विराटनगरमा निस्कियो राधाकृष्ण रथयात्रा (फोटो फिचर)

विराटनगर । विराटनगरको तीनपनै चोकबाट राधाकृष्ण रथयात्रा ३ : ५० बजे निस्किएको छ । तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट रथ निस्किएको हो ।

प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीका भोलिपल्ट विराटनगरमा रथयात्रा निकालिने गरिन्छ । यसअघिका दुई वर्ष कोरोना महामारीका कारण खट यात्रा मात्रै निकालिएको थियो ।

यो निस्किएको ५४ औँ रथयात्रा हो । तीनपैनीबाट निकालिने रथ यसअघि मेन रोडबाट ट्राफिक चोक, हिमालय रोड हुँदै कोसी लोक मार्ग प्रवेश गराएर बरगाछीबाट मन्दिरतर्फ लैजाने गरिएको थियो । सौन्दर्यीकरणको कामले हिमालय रोडमा अवरोध भएका कारण रथलाई रोड शेष चोकबाट घुमाउने तयारी छ ।

विक्रम संवत् १९८९ सालबाट सुरु भएको खट यात्रालाई पछि गएर रथयात्रामा परिणत गरिएको हो । २०२५ सालदेखि विराटनगरमा रथयात्रा गरिँदै आएको छ । कोरोनाका कारण रथयात्राको ५२ र ५३ औँ संस्करण भने खट यात्रामा सीमित भयो । दुई वर्ष राधाकृष्णको युगल जोडीलाई खटमा राखेर नगर परिक्रमा गराइएको थियो ।

रथयात्राका लागि २२ फिट लम्बाई, १४ फिट चौडाइ र १८ फिट उचाइको रथ तयार पारिएको छ । विराटनगरको रथयात्रालाई दक्षिण एसियाकै दोस्रो ऐतिहासिक रथयात्रा मान्ने गरिन्छ । रथयात्राको अवलोकन गर्न नेपालका विभिन्न जिल्ला र छिमेकी मुलुक भारतबाट समेत भक्तजन आउने गरेका छन् ।

रथयात्रालाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार रथयात्रालाई सुरक्षित र मर्यादित बनाउन सुरक्षाकर्मी परिचालन, निगरानी र आन्तरिक व्यवस्थापन लगायतका सुरक्षा रणनीति बनाइएको छ ।

रथयात्राको सुरक्षाका लागि नेपाल र सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरी परिचालन गरिने छ । नौ सय ६० जनाभन्दा बढी सुरक्षाकर्मी रथयात्राका लागि परिचालित हुने छन् । नेपाल प्रहरीका तीन जना डिएसपी फिल्डमा खटिने छन् ।

डिएसपी श्रेष्ठले रथयात्रामा बढी भिडभाड हुने भएकाले सुनचाँदीका गरगहना नलगाउन र बहुमूल्य वस्तुको प्रयोग नगर्न सबैमा आह्वान गरिएको छ । सिसी क्यामेराबाट रथयात्रा निगरानीको व्यवस्था मिलाइएको उनले बताए ।

शनिबार, ०४ भदौ, २०७९, दिउँसोको ०३:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर