चौथो कोरोना संक्रमितसँगै दुबईबाट आएका विराटनगर १५ का युवा परिवारसहित क्वारेन्टाइनमा

विराटनगर । शुक्रबार पुष्टि भएको नेपालको चौथो कोरोना संक्रमित कैलालीको धनगढीका ३४ वर्षीय व्यक्तिसंगै दुबईबाट आएका विराटनगर १५ का एक युवाको परिवारलाई क्वारेन्टाइनमा राखिएको छ ।

दुबईबाट दिल्ली हुँदै चैत ७ गते आएका युवामा कोरोनाको संक्रमण देखिएपछि उनीसँगै आएका युवालाई परिवारसहितलाई क्वारेन्टाइनमा राखिएको हो । ती व्यक्तिमा कोरोनाको लक्षण नदेखिएको भएपनि परिवारका तीन सदस्यमा ज्वरो देखिएकोले सबैलाई क्वारेन्टाइनमा पठाइएको छ ।

उनी धनगढीका युवासँगै आएको पुष्टि भएपछि र परिवारका तीन सदस्यमा ज्वरो देखिएकोले उनलाई परिवारसहित क्वारेन्टाइनमा राखिएको विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका निरीक्षक दिलिपकुमार यादवले जानकारी दिनुभयो । उनलाई परिवारका ३ सदस्यसहित विराटनगर १९ वैजनाथपुरस्थित स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा राखिएको छ । महानगरले शनिबार आयोजना गरेको विपद् व्यवस्थापन सम्बन्धिको छलफलमा उहाँले सो जानकारी दिनुभएको हो ।

दुबईबाट दिल्ली हुँदै आएका धनगढीका ३४ वर्षीय युवा काठमाडौंबाट बुद्ध एयरमा नेपालगञ्ज र बसमा धनगढी पुगेकोमा उनमा कोरोना भएको शुक्रबार पुष्टि भएको थियो । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

चौथो सं‌क्रमित भेटिएपछि सरकारले विदेशबाट आएका अरु पनि हुनसक्ने भन्दै सबैलाई क्वारेरेन्टाइनमा बस्न आग्रह गरेको छ । यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमा चीनबाट आएका विद्यार्थी उपचारपछि घर फर्किसकेका छन् भने दुई जना काठमाडौं स्थित शुक्रराज अस्पतालमा उपचाररत छन् ।

शनिबार, १५ चैत, २०७६, बिहानको ११:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर