विराटनगर । मुलुक लकडाउनपछि नेपाली आकासमा कुनैपनि उडान नभएकोमा बिहीबार र शुक्रबार केही उडान भएकोमा शनिबार ११ उडान हुँदैछ ।
शुक्रबार विदेशी पर्यटकको उद्धारको लागि २ उडान भए । काठमाडौंबाट पोखराको उडान बुद्ध एयरले भरेर पर्यटक ल्याएको थियो भने कतार एयरवेजले काठमाडौंबाट पर्यटक लगेको थियो ।
शनिबार लुक्लामा रोकिएका विदेशी नागरिकको उद्धारका लागि अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ ९ वटा उद्धार उडान हुने भएको छ । प्राधिकरणका अनुसार नेपाल बायुसेवा निगमका ५, तारा एयरको ३ र समिट एयरको एक जहाडले लुक्ला उडान गरी पर्यटक काठमाडौं लैजानेछन् ।
चैत १२ र १३ गते बुद्धएयर र तारा एयरबाट उद्धार गरिएका युरोपेली मुलुकका नागरिकलाई शुक्रबार कतार एयरको चार्टर्ड जहाजले सम्बन्धित गन्तव्यतर्फ लगेको थियो। शनिबार पनि कतारको दोहाका लागि दुई उडान हुनेछ ।
यस्तै निगमको वाइ–१२ जहाजले पनि शनिबार काठमाडौँ–नेपालगञ्ज उडान भर्नेछ। सो जहाजले कोभिडका शङ्कास्पद बिरामीबाट संकलन गरिएको खकारको नमूना लिएर काठमाडौँ फर्कनेछ।
यस्तै नेपाल एयरलाइन्सले चीनको ग्वाङ्जाउका लागि उडान अनुमति पाएको छ । अपरान्ह साढे १२ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको ग्वान्झाउका लागि जहाज उड्ने नेपाल एयरलाइन्सकोे ए ३३० वाइडबडी जहाजले मेडिकल सामग्री ल्याउनेछ ।