विराटनगर । कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न सरकारले मंगलबार बिहान ६ बजेदेखि मुलुक लकडाउन गर्ने निर्णय गरेको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले चैत १८ गतेसम्म देशभर लकडाउन गर्ने निर्णय गरेको हो ।
लकडाउनमा सबै हवाइसेवा बन्द हुनेछन् भने औषधि उपचार र खाद्यवस्तुजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर ननिस्कन आदेश जारी भएको छ । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमतिप्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिनेछ ।
अत्यावश्यक कामका लागि बाहिर निस्किन नपाउनेदेखि अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ । सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द हुनेछन् ।
स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अतिआवश्यक सेवा बाहेक अन्य कार्यालय सञ्चालनको लागि आवश्यक बाहेक सबै कर्मचारीलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुनेगरी बिदा दिइएको छ । औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन, उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले बिदा दिनेछन् ।
व्यवसायीहरुले औषधि र औषधिजन्य सामग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने तधथा अभाव देखाइ मूल्यवृद्धि गर्ने वा कालाबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिने निर्णयसमेत भएको छ । यस्तै कालोबजारी गरिका सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने तथा यो आदेशको कार्यान्वयन गर्नल प्रमुख जिल्ला अधिकारीलाई अधिकार दिने निर्णय भएको छ ।
संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुनेछ ।
देशभर लकडाउन गर्ने सरकारको घोषणासँगै सरकारले निजी र यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले सवारी साधनसहित आन्तरिक व्यवसायिक उडानहरु चैत १८ गते बिहान ६ बजेसम्मका रोक लगाउने निर्णय गरेको हो ।
सरकारले औषधि उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन आदेश जारी गरेको छ ।