मोरङमा आत्महत्या रोकथामका लागि ‘म छु र पो त’ एकीकृत अभियान सञ्चालन हुने

विराटनगर । बढ्दो आत्महत्या रोकथाम गर्न सञ्चालन हुने एकीकृत अभियानलाई सहयोग गर्ने सरोकारवालाले प्रतिबद्धता जनाएका छन् ।

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा शुक्रबार विराटनगरमा आयोजित छलफलमा नेपालमा बढ्दो आत्महत्या रोकथाम गर्न मोरङ प्रहरीले सञ्चालन गर्न लागेको एकीकृत अभियानलाई सहयोग गर्ने सरोकारवालाले प्रतिबद्धता जनाएका हुन् ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले बढ्दो आत्महत्या रोकथाम हुन नसके समाजको अवस्था भयावह बन्ने भएकोले प्रहरीले सञ्चालन गर्न लागेको अभियानलाई जिससले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले कारणहरू पत्ता लगाएर एकीकृत रुपले समाधानमा लागिपरेमात्र अभियान सफल हुने बताए ।

सुन्दरहरैचा नगरपालिका उपप्रमुख धनमाया तामाङले दिन दुइगुणा रात चौगुणाले बढ्न थालेको आत्महत्या मानसिक स्वास्थ्य समस्यासँग जोडिएकोले रोकथाम गर्न आफ्नो पालिकाले बजेट विनियोजन गरेर सहयोग गर्ने बताइन् । उनले विभिन्न कारणले गर्दा आत्महत्या बढ्न थालेको र त्यसले घरपरिवारलाई मात्र नभएर सिंङ्गो समाजलाई विथोलिरहेकोले अभियानलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ की निर्देशक नितु बर्तौलाले आत्महत्याले गर्दा मानिसको स्वतन्त्रतापूर्वक बाँच्न पाउने हक हनन् भैरहेकोले रोकथाम अति आवश्यक छ भन्दै अभियानमा साथ दिन आयोग तयार रहेको जानकारी गराइन् । उनले आत्महत्या गर्नेहरुमा पुरुषहरु मात्र नभै महिला र बालबालिका अनि वृद्धहरु सबै रहेकोले अभियानलाई साझा बनाएर सञ्चालन गर्न सुझाव दिइन् ।

गैरसरकारी संस्था महासंघ मोरङ उपाध्यक्ष विष्णु शर्माले घरेलु हिंसा , बलात्कार, विभेदयुक्त व्यवहार, गरिबी, बद्नामीको भय, दीर्घ रोग आदि अनेक कारणहरुले गर्दा आत्महत्याको घटना हुनेगरेकोले सरकारी र गैरसरकारी क्षेत्रले एकीकृत रुपमा रोकथाम अभियान थाल्नुपर्ने बताइन् । उनले मोरङमा प्रहरीले सञ्चालन गर्न लागेको आत्महत्या रोकथाम अभियान अति नै आवश्यक भएकोले गैससहरुले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश लम्सालले नेपालमा वर्सेनि दश हजार जनाले आत्महत्या गर्नु चानचुने विषय नभको र दश वर्षमा एक लाख जना नेपालीले अनाहकमा ज्यान गुमाइरहेकोले मान्छे बचाउने योजनासहितको अभियान आवश्यक भएको बताए । उनले समाजमा हुने सबै गतिविधि मान्छेकै लागि हुने भएकोले मान्छेको रक्षा महत्वपूर्ण हो भन्दै मान्छेबिहीन समाज हुने अवस्था आउन नदिन सतर्क हुनुपर्ने बताए । उनले प्रहरीले सञ्चालन गर्न लागेको आत्महत्य रोकथाम अभियानलाई पत्रकारले खुलेर सहयोग गर्नु दायित्व हुने पनि बताए ।

ओरेक नेपालकी सुनसरी मोरङ कार्यक्रम संयोजक शान्ति दनुवारले बढ्दो आत्महत्या रोकाथामका लागि अवस्था बुझ्न मोरङको सुन्दरहरैंचा नगरपालिकामा बसोवास गर्ने पीडित परिवारसँग कुराकानी गरेर अनुसन्धान गरेको जानकारी गराइन । उक्त अनुसन्धान अनुसार घरेलु हिंसा, चरम गरिबी, समाजिक बद्नामी, भय, बलात्कार, जातीय विभेदयुक्त व्यवहार, थिचोमिचो, लागू औषध र मादक पर्दाथ सेवन, दीर्घ रोग, आदि अनेकौं कारणहरुले आत्महत्या हुने गरेको पाइएको छ ।

कोशिस नेपालकी मनोविद अनिषराज भण्डारीले आत्महत्या रोक्न एकीकृत रणनीति बनाएमा रोकथाम अभियान प्रभावकारी हुने बताइन् । उनले आत्महत्या रोक्न प्रत्येक वडामा मनोविमर्शकर्ता हुनुपर्ने, निरासा हटाएर उत्प्रेरण जगाउनुपर्ने, समाजलाई मादक पदार्थ र लागू औषधमुक्त बनाउनुपर्ने, मानसिक समस्या भएमा उपचार गराउनु पर्ने, जातीय विभेद र महिला हिंसा उन्मुलन गर्दै आत्महत्या गर्न प्रेरित गर्ने नकारात्मक धारणहरू हटाउने एकीकृत अभियानलाई सबैले साथ दिनुपर्ने बताइन् ।

एसपी जनार्दन जिसीले बढ्दो आत्महत्या रोक्न मोरङ प्रहरीले केही दिनमै सामूहिक रुपमा ‘म छु र पो त’ भन्ने अभियान थाल्न लागेको जानकारी गराए । उनका अनुसार समाजिक संस्था र पालिकाहरुको सहयोगमा प्रहरीले वडा तहसम्म गएर आत्महत्या रोकथामका लागि सकारात्मक अन्तरक्रिया गर्नेछ ।

शनिबार, २६ भदौ, २०७८, दिउँसोको ०४:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर