एमसीसी पास नहुने प्रचण्डको दाबी, वाईसीएललाई संसदवादमा नफस्न निर्देशन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड’ले एमसीसी पास नहुने दाबी गरेका छन् । योङ कम्युनिष्ट लिग (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति नजनाउने बताए ।

‘एमसीसी पास हुँदैन । किनभने हामीले यसबारे अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ, त्यसको जवाफ आएन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन’, प्रचण्डको भनाइ थियो, ‘तपाईंहरु ढुक्क हुनुस् राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति जनाउँदैन ।’

त्यस्तै प्रचण्डले माओवादी केन्द्र पनि संसदवादमा फस्दै गएको भन्दै संसदवादले राम्रो नगरेको बताए । प्रचण्डले वाईसीएललाई संसदवादमा नफस्न निर्देशन दिँदै फौजी संरचना भएकाले एकीकृत र एकढिक्का भएर अघि बढ्नुपर्ने बताए ।

उनले अहिलेको शासन प्रणालीमाथि प्रश्न उठिरहेकाले माओवादीको आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनसँगै पार्टीले आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने अवस्था आउने भएकाले त्यसका लागि तयार रहेर बस्न आग्रह समेत गरे ।

वाईसीएलको संयोजकमा देवकोटा तोकियो

यसैबीच बैठकले वाईसीएलको संयोजकमा सुमन देवकोटालाई चयन गरेको छ । त्यस्तै सह–संयोजक सुबोधराज शेर्पाली बनेका छन् । मंगलबार अनुपम पार्टी प्यालेसमा बसेको केन्द्रीय समिति बैठकले संयोजकमा देवकोटा र सह–संयोजकमा शेर्पालीलाई जिम्मेवारी दिएको हो । बैठकले हालको केन्द्रीय समितिलाई तेस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गरेको छ ।

मङ्गलबार, २२ भदौ, २०७८, साँझको ०५:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर