अल्पमतको प्रदेश १ सरकारले जथाभावि निर्णय गरेको भन्दै माओवादीको आपत्ती

विराटनगर । भीम प्रसाद आचार्यको नेतृत्वको प्रदेश १ सरकारले दुरगामी महत्वका नीतिगत निर्णय गर्न थालेको भन्दै विपक्षी दल नेकपा माओवादी केन्द्रले आपत्ती जनाएको छ ।

माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अल्पमतमा परिसकेको र विश्वासको मत पाउने कुनै पनि सम्भावना नरहेको सरकारले नियमित र तत्कालीन काम बाहेक कुनै पनि दीर्घकालीन र दुरगामी महत्त्व राख्ने निर्णय गर्न नहुनेमा जोड दिएका छन् ।

‘प्रदेश नं. १ को सरकार र प्रदेश सरकारका उच्च पदस्थ कर्मचारी मित्रहरुलाई फेरि पनि हाम्रो आग्रह छ । अल्पमतमा परिसकेको र विश्वासको मत पाउने कुनै पनि सम्भावना नरहेको वर्तमान सरकारले नियमित र तत्कालीन काम बाहेक कुनैपनि दीर्घकालीन र दुरगामी महत्त्व राख्ने नीतिगत निर्णय, थप र नयाँ दायित्व सिर्जना हुने काम, कार्यालय थपघट, राजनीतिक नियुक्ति, कर्मचारीको सरुवा बढुवालगायतका काम गर्नु सर्वथा गलत हुनेछ,’ आङ्बोले उल्लेख गरेका छन्, ‘यस्तो महत्त्वपूर्ण निर्णय नगर्न नगराउन फेरि पनि सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।’

स्रोतका अनुसार आज मात्रै संङ्गठन संरचना व्यवस्थापन सम्बन्धी अध्ययन (ओएनएम) नै नगरी प्राविधिक कार्यालय मर्जर गर्ने प्रस्ताव गरिएको छ भने मनमोहन प्राविधिक विश्वविद्यालय सभाको सिनेटमा सिनेटर नियुक्तिको तयारी छ ।

सोमबार, २१ भदौ, २०७८, साँझको ०७:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर