विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले उद्योगी व्यवसायीको समस्याप्रति प्रदेश सरकार गम्भीर भएको बताएका छन् । कोभिड–१९ का कारण भएको समस्याप्रति लक्षित गर्दै उनले उद्योग व्यवसाय प्रवद्र्धनका लागि प्रदेश सरकारले नयाँ कार्यक्रम ल्याउने बताए ।
सुनसरीको धरानमा आज सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले राजनीतिक परिस्थिति प्रतिकूल रहेको पनि बताए । उनले परिस्थिति अनुकुल भएपछि प्रदेश १ को आर्थिक अवस्था मजबुद बनाउन सरकारले नयाँ योजना ल्याउने बताए ।
‘क्याविनेटको पहिलो वैठकबाट यातायात व्यवास्था कार्यालय, मालपोत कार्यालयहरुबाट अनलाइन सेवा सञ्चालन गर्न निर्णय गरेको छ,’ आचार्यले भने, ‘कोभिड प्रभाव न्यूनीकरणका लागि १० करोड बजेट विनियोजन गरेर प्रदेश सरकारले काम थालेको छ ।’
कार्यक्रममा प्रदेश सभामुख प्रदिपकुमार भण्डारीले प्रदेशको आर्थिक सम्वृद्धिका लागि उद्योगी र व्यवसायीको ठूलो भूमिका भएको बताए । कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघ अध्यक्ष गिरीधारी सापकोटा, पूर्ण अध्यक्ष मोहनकाजी शाक्य, प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठलगायतले व्यवसायी र उद्योगीको तत्कालका समस्या सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए ।