इटहरी । नेकपा एमालेभित्रको विवाद १० बुँदे सहमतिमले समाधान गरेको भन्दै माधवकुमार नेपाल समूह परित्याग गरेर प्रदेश १ को मुख्यमन्त्री बनेका भीमप्रसाद आचार्यलाई उनकै गृहजिल्ला सुनसरीमा चुनौति आएको छ ।
आचार्यले १० बुँदे सहमति अनुसार २०७५ जेठ २ गते जिल्लामा कायम रहेको रमेश बस्नेत अध्यक्ष रहेको नेकपा एमालेको कमिटी पुनःस्र्थापना भएको घोषणा गरेकोमा केपी ओली पक्षले यसअघि बनाएको रेवतीरमण भण्डारी नेतृत्वको समितिले त्यसलाई अस्वीकार गरेको हो ।
आचार्यको गृहजिल्ला सुनसरीमा एमाले कार्यकर्ताहरु उनीप्रति रुष्ट छन् । यसअघि पार्टीमा गुटबन्दी गरेको, समानन्तर गतिविधि गरेको र पार्टीलाई असफल बनाउन लागिपरेकोले १० बुँदे सहमति अनुसार बस्नेत नेतृत्वको समिति स्वीकार गर्न नसकिने ओली पक्षका नेताहरुको भनाइ छ ।
ओली पक्षका भण्डारीको अध्यक्षता र पार्टीका केन्द्रीय सदस्य तैयब हुसेनको आतिथ्यमा बसेको जिल्ला सचिबालयको बैठकले पार्टी केन्द्रको निर्णय अनुसार जस्ताको तस्तै जेठ २ मा फर्कन नसक्ने निर्णय गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख रवि खनालका अनुसार विगतमा पार्टी विभाजनको पक्षमा रहेका र गुटबन्दी गर्नेलाई पुनःस्थापित गर्न नसकिने निर्णय गर्दै बैठकले आफ्नो विशिष्टतामा १० बुँदे लागु गर्ने निर्णय गरेको छ ।
बैठकले संकटको बेला पार्टी जोगाउन सक्रिय भएकाहरुलाई विस्थापित गरेर पार्टी विरोधी गतिविधिमा गठबन्धन गरेर लागेकाहरुलाई स्थापित गर्न नसकिने ठहरसमेत गरेको छ । निरपेक्ष रुपमा जेठ २ गते फर्कने कुरा पार्टी हितमा नरहेको पनि बैठकको निश्कर्ष रहेको खनालले बताए । बैठकले जेठ २ को अलमलमा परेर पार्टीको काम र गतिविधिलाई नरोक्ने भन्दै आफ्नो कार्यक्षेत्रमा खट्न कार्यकर्ताहरुलाई निर्देशनसमेत दिएको छ ।
एमालेमा विवाद चर्किएपछि बस्नेतको नेतृत्वलाई चुनौति दिँदै ओली पक्षले भण्डारीको अध्यक्षतामा समानान्तर कमिटी बनाएको थियो । भण्डारीको नेतृत्वमा करिब साढे ४ सय सदस्य रहेको जिल्ला कमिटी बनेको थियो भने नेपाल पक्षले बस्नेताको नेतृत्वमा २५० सदस्य रहेको समानान्तर जिल्ला कमिटी पुनर्गठन गरेको थियो । जसमध्ये करिब सय जना नेकपा एकीकृत समाजवादीमा लागेका छन् भने बस्नेतसहित बहुमत सदस्य एमालेसमै रहने भएका छन् ।
प्रदेशमा १० बुँदे कार्यान्वयनको लागि पार्टीका सचिव रहेका आचार्यकै नेतृत्वमा कार्यदल छ । कार्यदलले बस्नेत अध्यक्ष रहेको कमिटिलाई सक्रिय गर्न निर्देशन दिइसकेको छ । तर, भण्डारी नेतृत्वको कमिटीले त्यसलाई ठाडै अस्वीकार गरेको छ । पुस ५ यता रेवती भण्डारीलाई अध्यक्ष बनाएर धेरै अगाडि बढीसकेकोले अब काँग्रेस र माओवादीसँग गठबन्धन बनाएर हिँडेका बस्नेतलाई एमालेको अध्यक्ष मान्न नसकिने उनीहरूको भनाइ छ ।
एमाले सुनसरी जिल्ला कमिटीका सदस्य भीम राई ज्वाला भने जिल्लाले केन्द्रको सर्कुलर मान्दिनँ भन्न नपाउने भन्दै १० बुँदे सहमति अनुसार बस्नेत अध्यक्ष रहेको कमिटी पुनःस्र्थापित भएको बताए । बस्नेतलाई अध्यक्ष मानिँदैन भन्ने ओली पक्षका नेताहरुको भनाइ फुटपरस्त संकीर्ण विचारको रुपमा आएको उनको भनाइ छ ।