भ्रामक समाचार नलेख्न नगरपालिकाको चेतावनी

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले सञ्चार माध्यमहरुलाई तथ्यहिन, निराधार र भ्रामक समाचार प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको छ ।

बेलबारी नगरपालिकाका नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको नाम जोडेर भ्रष्टाचार गरेको जस्ता समाचार आएपछि नगरपालिकाले एक बिज्ञप्ति निकालेर ध्यानाकर्षण भएको जनाएको छ ।

बेलबारी नगरपालिकाले सूचनाको हकको सम्मान गर्दै सरोकारवालालाई माग गरेको सूचना र जानकारी सहज ढङ्गले उपलब्ध गराउँदै आएको अवस्थामा केहि मिडियामा नगरसँग सूचना र जानकारी लिने वा सत्य तथ्य खोजी गर्नेभन्दा पनि तथ्यहिन, निराधार र भ्रामक समाचार प्रकाशन र प्रसारण गर्ने गरेको विज्ञप्तिमा जनाइएको छ । नगरप्रमुख ज्ञानेन्द्र सुवेदीद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा जनतालाई भ्रममा पार्नेगरी विनाप्रमाण तथ्यहिन, कपोकल्पित र पूर्वाग्राह राखेर कसैको चरित्र हत्या हुने गरी समाचार सम्प्रेषण नगर्नसमेत सचेत गराइएको छ ।

भ्रम सृजना गरी चरित्र हत्या गर्नु निन्दनीय र घृणित कार्य भएको भन्दै त्यसले मुलुकी अपराध संहिता, २०७४ को दफा ३०६ को उपदफा २ क बमोजिम कसुर ठहरिने हुनाले यस्ता भ्रामक र घृणित कार्य नगर्न र नगराउन नगरपालिकाले चेतावनी दिएको छ । बिज्ञप्तीमा भनिएको छ, ‘संचार माध्यम राज्यको चौथो अङ्ग हो, स्वतन्त्रता, निष्पक्षता र जवाफदेहिताको सिद्धान्तमा आधारित संचार माध्यम लोकतान्त्रिक मुलुकको पूर्वसर्त हो । यस सन्दर्भमा संचार माध्यमको भूमिका र महत्वमाथि नगरपालिकाको सदैव सम्मान रहन्छ । संचार जगतले समेत आफ्नो आचरण र पेशागत मर्यादा कायम गरी निष्पक्ष र तथ्यपरक समाचार संप्रेषण गर्न अनुरोध गर्दछौँ ।’

ग्रो अर्गानिक कृर्षि प्रा.लि. संखुवासभासँग सम्झौता गरी अष्ट्रेलियन फुल बल्डको बोयर बोका र बाख्रा ल्याउन कार्यादेश दिइएकोमा सम्झौतामा उल्लेख भएको शर्त र मापदण्डभन्दा विपरित बोका बाख्रा ल्याएपछि नगरपालिका विवादमा छ । त्यसमा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको मिलेमतो भएको भन्दै समाचार आएपछि विज्ञप्ति जारी गरिएको हो ।

मापदण्ड विपरित बोकाबाख्रा उपलब्ध गराएकोले बेलबारी नगरकार्यपालिकाको मिति जेठ ३१ गतेको ६९ औँ बैठकले ठेक्का रद्द गरी ग्रो अर्गानिक कृषि प्रा.लि संखुवासभालाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल काठमाडौँलाई सिफारिस गरी धरौटी मेत जफत गर्ने निर्णय गरेको थियो ।

शनिबार, ०५ असार, २०७८, बिहानको ०८:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर