कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकामा रहेको ऐलानी जग्गाको नापी कार्य सुरु गरिएको छ ।
भूमिहिन, सुकुमबासी तथा अव्यवस्थित बासोबासीको समस्यालाई समाधान गर्ने उद्देश्यले जग्गाको नापी कार्य सुरु गरिएको हो । कानेपोखरी–६ स्थित बिहीबारेबाट ऐलानी जग्गाको नापी कार्य सुरु गरिएको हो ।
सुकुमबासी समस्या समाधान आयोग मोरङका अध्यक्ष डिबि राईले गाउँपालिकाभित्र रहेका ऐलानी जग्गाको नापी कार्य सम्पन्न गरि अन्य प्रक्रिया पुरा गरेर निकट भविश्यमा नै धनिपुर्जा वितरण गरिने बताए ।
कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले जग्गा सर्वेक्षण तथा नापी कार्यमा सहयोग गर्न कानेपोखरी गाउँपालिकाका आम जनसुदाय तथा सरोकारवालालाई अनुरोध गरे । उनले कानेपोखरी गाउँपालिकामा सुरुवाती चरणबाट नै जग्गाधनिले भोगचलन गर्दै आएको ऐलानी जमिन, लालबाबु पण्डितको आयोगले वितरण गरेको २५ वर्षे पुर्जावाला जमिन, धनिपुर्जा एक जनाको नाममा रहेको र अर्को जनाले भोगचलन गर्दै आएको जमिनलगायत गरेर ४ प्रकारका ऐलानी जग्गाहरु रहेको बताए ।
जग्गा सर्भेक्षण कार्यमा १५ वटा पोइन्टहरु बनाएर त्यसलाई नै आधार मानि जग्गाको डिजिटल सर्भेक्षण गरिने जग्गा सर्भेक्षण टोलीका सर्भेक्षक कमल कुमार बरालले बताए ।
कानेपोखरी गाउँपालिकामा ३९२ घरधुरी भूमिहिन दलित, १६५३ घरधुरी भूमिहिन सुकुमबासी, २५२३ अव्यवस्थित बसोबासी र अधुरा कार्यहरु ३७३ गरेर जम्मा ४ हजार ९ साय ४१ घरधुरी रहेका छन् ।