ढुंगागिटी बेचेपछि रोजगारी सिर्जना हुने दावी

मन्त्री कार्की भन्छन्–‘खनिज बिक्रीको विरोध गर्नु अन्धराष्ट्रवाद हो’

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री तथा सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले नेपालको खनिज पदार्थको बिक्री वितरण गर्ने नीतिको विरोधलाई अन्धराष्ट्रवादको संज्ञा दिएका छन् ।

केहीबेर अघि सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री कार्कीले आफूहरु प्रगतिशील राष्ट्रवादको पक्षमा रहेको भन्दै उनले लेखेका छन् ‘नेपालको प्राकृतिक सम्पदा , खनिज र जनशक्तीको राष्ट्रियहितमा प्रयोग नहुने र अप्राकृतिक ढंगले दोहनहुने अनि चोरी निकासि गरि दलाल बिचौलिया धनी बन्ने काम रोक्नु पर्दछ।अब अन्धराष्ट्रवाद होईन, प्रगतिशील राष्ट्रवाद हाम्रो एजेन्डा हुनुपर्दछ।’

मन्त्री कार्कीले नेपालको जमिन, खनिज, प्राकृतिक सम्पदा वन, जंगल, जडिबुटी र जनशक्ति राष्ट्रिय हितमा देश विदेशमा प्रयोग हुनसक्ने जसले राष्ट्रिय पुँजीको विकास भई समृद्ध नेपाल सुखि नेपालीको उदेश्य पुरा हुने दावी गरेका छन् ।

अप्राकृतिक ढंगले प्रकृतिको दोहन रोक्न, चोरी निकासीबाट बिचौलीया मात्र धनी बन्ने अवस्था अन्त्य गर्न वैधानिक निकासीको व्यवस्था गर्नुलाई उनले प्रगतिशील राष्ट्रवाद भनेका छन् भने त्यसको विपक्षमा रहको जनमतलाई अन्धराष्ट्रवादीको आरोप लगाएका छन् ।

उनले २०५०–५१ तिर अरुण तेश्रो जलविद्युत आयोजनाको विरोध गर्दा जलविद्युत विकासको क्षेत्रले क्षति व्यहोरेको स्मरण गाराउँदै भनेका छन् ‘हामिले हेक्का राख्नै पर्छ, २०५० र ०५१ सालतिर हामिले अरुण–३ जलबिधुत आयोजनाको बिरोध गर्‍यौ, आयोजना अघि बढन सकेन अनि के भयो नेपाल करिब दुई दशक कठोर लोडसेडिङको सामना गर्‍यौ । आखिर करिब २० बर्ष पछि सोही रुपमा नै अरुण–३ बिधुत आयोजना शुरु भयो । आखिर हामिले के पायौं ? यस्ता हाम्रा अव्यवहारिक सोच, अन्धराष्ट्रवादबाट गरिबी ,अभाव लोडसेडिङ र हाम्रा नेपाली युबाहरु मरुभूमिमा कामदार बनेर हजारौंले परिवार बिच्छेद र अकालमा मृत्यु, ब्यहोरीरहेका छौं।’

उनले ढिला नगरी प्राकृतिक सम्पदाको समूचित प्रयोग र बेचबिखन गरेर राष्ट्रिय आय बढाउनु पर्नेमा जोड दिएका छन् । उनले देशको व्यापार घाटा घटाउँदै राष्ट्रिय पुँजीको विकास गर्ने काममा कतिपनि ढिला गर्न नहुने बताएका छन् ।

ढुंगागिटी बिक्री र निर्यातबाट देशभित्रै रोजगारीको अवसर सिर्जना हुने दावी गर्दै उनले भनेका छन् ‘सबै नेपाली लाई देश भित्रै बसेर रोजगारी अबसर जुटाउदै देश बिकासमा सहभागी बन्ने अबसर दिनु पर्छ । यस्तो कार्यमा सतारुढ ,विपक्षी दल नेता वा कुनै पनि बुद्दिजीवि हामी जोसुकै पनि नेपालीले यस्ता काम , कुरा गरेर देश विकासको चक्र लाई उल्टो फर्काउने काम गर्नु हुन्न ।’

शुक्रबार, २१ जेठ, २०७८, बिहानको ०९:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर