ढुंगागिटी बेच्ने सरकारको निर्णयको फाउण्डेसनद्वारा विरोध

विराटनगर । सरकारले बजेट मार्फत व्यापार घाटा न्यून गर्न भन्दै ढुंगागिटी निकासी गर्ने नीतिको चुरे संरक्षण तथा पर्यटन प्रबद्र्धन फाउण्डेसन मोरङले विरोध गरेको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गरी चुरे विनास गर्ने र तराई मधेशलाई मरुभूमिकरण गर्ने उद्देश्यले सरकारले ढुंगागिटी निकासीको योजना ल्याएको भन्दै विरोध गरेको हो ।

इलामदेखि कञ्चनपुरसम्म फैलिएको चुरे पहाड पर्यावरणीय दृष्टिकोणले अति महत्वपूर्ण रहेको भन्दै त्यसको संवेदनशीलता नष्ट हुने तथा मधेशमा पानीको स्रोत सुक्न गई मरुभूमिमा परिणत हुने भएकोले सरकारले आफ्नो निर्णय सच्याउनु पर्नेमा फाउण्डेसनले जोड दिएको छ ।

चुरे क्षेत्रमा बसोबास गर्ने नागरिकलाई त्यसको संरक्षणमा परिचालन गरी वैकल्पिक आयआर्जनको स्रोत खोजी गर्नुपर्नेमा ढुंगामाटो बेच्ने निर्णयप्रति फाउण्डेसनको गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यस्तो कार्य रोक्न मोरङका अध्यक्ष किरण गिरीले विज्ञप्ति मार्फत आग्रह गरेका हुन् ।

पर्यावरण र पर्यटनको हिसावले चुरे फेदीमा रहेका झरना र वाटर होल्डहरु , पार्कहरु निर्माण गरि हाईकिङ्ग र साईकिलिङ्ग रुटहरु बनाएर थाईल्याण्डमा जस्तै विभिन्न रात्रिकालिन स्टेसनहरु बनाएर आन्तरिक तथा बाहिरी पर्यटक भित्र्याउने प्रवल सम्भावना रहेकोले त्यसका लागि योजना बनाउन पनि सरकारलाई सुझाव दिइएको छ ।

चुरे संरक्षणका लागि अहिले भइरहेको पहल र प्रयत्नप्रति ऐक्यवद्धता जनाउदै फाउण्डेसनले वन जंगल रहे पानी, पानी रहे हामी भन्ने नारालाई व्यवहारमा लागू गर्न पनि आग्रह गरेको छ ।

शुक्रबार, २१ जेठ, २०७८, बिहानको ०८:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर