मजदुर आन्दोलिन भएपछि अरुण तेस्रोको काम ठप्प

संखुवासभा । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको काम अवरुद्ध भएको छ।

आयोजनाको सुरूङभित्र मृत्यु भएका मजदुरको परिवारलाई राहत र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै मजदुरहरु आन्दोलित भएपछि काम ठप्प भएको हो ।

गत बुधबार बिहान सुरुङभित्र बारुद लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर कञ्‍चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का ३७ वर्षीय कृष्ण रानाको मृत्यु भएको थियो। घटनामा सोही स्थानका ५० वर्षीय मिठु राना घाइते भएका छन् ।

घटनापछि मजदुहरुले क्षतिपूर्ती र राहतको माग गर्दा वास्ता नगरिएको भन्दै आयोजनाको कार्यालय तोडफोड गरेका थिए । त्यसपछि काम ठप्प भएको हो । आयोजनाको काम सुचारु गर्न सतलज कम्पनी र सरोकारवाला निकायसँग छलफल भइरहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले जानकारी दिए।

विद्युत् गृहस्थल निर्माणको जिम्मेवारी पाएको पटेल इन्जिनियरिङ लिमिटेडले जिम्मेवारीबाट पन्छिन खोजेपछि मजदुहरु आन्दोलित भएका थिए। शव व्यवस्थापनको लागि चन्दा संकलन गर्नुपर्ने कुरा कम्पनीले भनेपछि मजदुरहरु आक्रोशित भएका हुन् ।

मजदुरहरु आक्रोशित भएपछि निर्माण कम्पनीले ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने बताएको थियो । तर, उनीहरुले ५० लाख रुपैयाँ बिमा रकम हुने भन्दै सो रकमको माग गरेका छन् । मृतकका भाई राम स्वरुप रानाका अनुसार बीमाको रकम दिन आयोजनाले बार्गेनिङ गरेर ३० लाख रुपैयाँ दिने सहमति जनाएको छ । त्यसपछि मात्र शव जिम्मा लिएको उनले बताए ।

चिचिला गाउँपालिकामा निर्माणाधीन अरुण–३ जलविधुत आयोजनाको विद्युतगृहमा मजदुरको मृत्युपछि काम गर्ने सहज वातावरण नभएको सतलज जलविद्युत निगम (एसजेभीएन) का सिइओ अरुण धिमानले बताए। नेपाल सरकारले सुरक्षाको प्रत्याभुति गराएमात्र आयोजनाको काम शुरू गर्नसक्ने उनको भनाइ छ।

अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतीय र नेपालीसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन्। कुल १ खर्ब ४४ अर्ब रुपैयाँ लागत अनुमान गरी निर्माण भइरहेको आयोजनाबाट सन्‌ २०२२ मा विद्युत उत्पादन शुरू गर्ने लक्ष्य छ।

शनिबार, ०१ जेठ, २०७८, दिउँसोको ०२:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर