प्रभावशाली चार युवा नेता भन्छन्, ‘हामी लज्जित छौं’

विराटनगर । कोरोना नियन्त्रणमा सरकार उदासिन र गैरजिम्मेवार बनेको भन्दै प्रभावशाली चार युवा नेताहरुले सरकारको आलोचना गर्दै आफूहरु यो अवस्था देखेर लज्जित भएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा प्रभाकर, नेकपा एमालेका नेता योगेश भट्टराई तथा नेपाली कांग्रेसका युवा नेता गगन थापाले सामाजिक संजाल फेसबुक पेज मार्फत सरकारलाई कोरोना नियन्त्रणमा गम्भीर बन्न अनुरोध गरेका छन् ।

चार नेताले के के भने हेर्नुहोस्

नारायण काजी श्रेष्ठ

यो सरकारको गैरजिम्मेवारी र नालायकीको हद भयो । आइसियु र भेन्टिलेटरको कुरा छाडौं, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दा हेर्दै मरिरहेका छन् । उपचारमा खटिएका चिकित्सक एवं नर्सहरु त्यो दृश्य टुलुटुलु हेर्नुपरेकोमा रुँदै कराईरहेका छन् । राजधानीका कतिपय ठूला अस्पतालहरुले भर्ना भई उपचाररत कोभिड बिरामीलाई अक्सिजनको अभावका कारण उपचार गर्न नसकिने भन्दै अस्पतालबाट बाहिर पठाईरहेका छन् भने कतिपय अस्पतालले अब कोभिड बिरामी भर्ना गर्न नसकिने सूचना सार्वजनिक गरेका छन् । बुटवललगायतका अस्पतालहरुले आधा घण्टा अक्सिजन बन्द भएकाले केही बिरामीको मृत्यु भएको कुरा बताएका छन् भने हिंजो मात्र कोभिड महामारीबाट जनतालाई बचाउन रातदिन नभनी खटिरहनु भएका ट्रमा सेन्टरका डाइरेक्टर डा. सन्तोषले समेत अक्सिजनको अभावमा बिरामीको ज्यान गइरहेको भन्दै अक्सिजनको लागि हारगुहार गर्नुभएको छ। यसरी गर्न सक्ने काम पनि नगरी जनता ‘मारेर’ बस्न कसरी सकेको छ सरकार ? यसपटक अग्रपंक्तिमा खटिरहेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुको असाधारण नमुना योग्य कामको सम्मान र अनुसरण गर्दै महामारीबाट जनता बचाउन आ–आफ्नो ठाँउबाट जे–जे गर्न सकिन्छ, सबै लागौं ।

योगेश भट्टराई

सरकारलाई ध्यानाकर्षण !
आज विश्व नै कोभिडबाट आक्रान्त छ । हरेक दिन बिरामीहरुको अकाल मृत्‍यु र उनीहरुका परिवारको चित्कारका समाचारले सरकार र भाग्यले बाँचेकाहरु लाचार बनिरहेको अवस्था छ । हाम्रो देश अझ संकट तिर जाँदै छ । बिगतदेखि कै सरकारहरुले सर्वजनिक स्वास्थ्यलाई राज्यको प्रमुख दायित्वका रुपमा लिएर प्रयाप्त काम नगरेका कारण आज यो बिस्फोट बन्न पुगेको छ । बिरामीका लागि न्यूनतम अक्सिजन र बेड दिन नसक्नुले हामी सबै लज्जित छौ । यस्तो संवेदनसील अवस्थामा भैरहेका अस्वस्थ राजनीतिक खेलहरुले सरकार, राज्ययन्त्र तथा राजनीतिक नेतृत्वप्रति असन्तुस्टी बढदै गएर ब्यबस्था नै धरापमा पर्नसक्ने सम्भावनाप्रति सबै सचेत हुनुपर्दछ ।

निम्न विषयमा सरकारको ध्यानाकर्षण गर्दछु

१. अहिले तुलनात्मक रुपमा चिनमा कोभिडको असर कम भएको देखिन्छ । तसर्थ अघिल्लो समयमा इटलीलगायतका युरोपेली मुलुकमा चिनले स्वास्थ्य सामाग्री र जनशक्तिसहित जसरी सहयोग गरेको थियो त्यसरी नै अहिले नेपाललाई सहयोग गर्न नेपाल सरकारले चिन सरकारलाई अनुरोध गर्नु पर्दछ । र भारतलगायत अन्य देशका सरकारलाई पनि अनुरोध गरी सहयोग तत्काल ल्याउनु पर्दछ ।
२. २०७२ को महाभुकम्पपछि जसरी राजनीतिक बिमतीहरुलाई थाती राखेर सरकार र राजनीतिक नेतृत्वले सहमतिमा काम गर्‍यो, एमाले, माओवादी र नेकाका बिचमा १६ बुँदे सहमति गरी संबिधान निर्माण गर्ने जोखिमपूर्ण काम सम्पन्न भयो त्यसरी नै कोभिड बिरुद्धको लडाईंमा फेरी एक पटक राष्ट्रिय सहमतिका साथ ठोस योजनामा सबैले काम गर्नु पर्दछ। राष्ट्रको मिसन कोभिड १९ लाई बनाउनु पर्दछ ।
३. सम्पूर्ण जनशक्तिलाई कोभिड बिरुद्धको लडाईंमा केन्द्रित गर्ने र छिटो प्रकृयाबाट थप जनशक्ति भर्ना गर्ने ।
४. आर्थिक अभाव हुन नदिने । अन्य शीर्षकका बजेट पनि कोभिडमा केन्द्रित गर्ने । कोभिडबिरुद्धको लडाईंमा खटेको जनशक्ति बाहेक राज्यबाट पारिश्रमिक लिने अरु सबैको सुविधा हाललाई स्थगित राख्ने ।

जनार्दन शर्मा

काठमाडौंमा समेत अक्सिजन अभावमा अस्पतालले बिरामी उपचार गर्न नसक्ने घोषणा गरेका छन् । काठमाडौंमा मात्र दैनिक ८ देखि १० हजार सिलिन्डर उत्पादन हुने भनिएको छ । अक्सिजन कसले वितरण गर्छ र कहाँ खपत भइरहेको छ, क्षमता वृद्धि गर्न नसके पनि सो अक्सिजनको खपतबारे जनतालाई जानकारी गराउन सरकारसँग आग्रह गर्दछु । जनताको जीवनरक्षाका लागि आफू पनि आफ्नो ठाउँबाट सम्पूर्ण सहयोग गर्न तयार रहेको जानकारी गराउँछु ।

गगन थापा

प्रधानमन्त्रीज्यू,अक्सिजनको अभावमा बिरामी र तिनका आफन्तको छटपटी अनि अस्पतालहरू अत्तालिएर सेवा नै बन्द गर्न परेको हृदय विदारक अवस्था छ। कृपया यसलाई मनन गरेर अक्सिजन आपूर्ति र वितरणको गांठो फुकाउन र जनताको जीवन जोगाउन तत्काल पहल गर्न विनम्र अनुरोध गर्दछु।

बिहिबार, ३० बैशाख, २०७८, बिहानको ११:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर