विराटनगर । कुनै पूर्वजानकारी र तालिकाबिना जथाभावी विद्युत कटौती हुँदा प्रदेश १ मा अक्सिजन उत्पादन गर्ने उद्योगको उत्पादनमा असर परेको छ ।
प्राधिकरणले अनियमित रुपमा विद्युत कटौती गर्दा कोरोना महामारीको बेला अक्सिजन उत्पादन गरिरहेका उद्योगको उत्पादनमा असर परेको हो ।
बारम्बार विद्युत लाइन काटिएको कारण उत्पादनमा असर गरिरहेको हिमाल अक्सिजन उद्योगका म्यानेजर महम्मद नवीनले बताए । विद्युतका कारण चलेको मेसिन बन्द भएपछि फेरि सञ्चालन गर्न समय लाग्ने गरेको उनको भनाइ छ । अहिले उद्योगले दैनिक ३ सय सिलिन्डर भरिरहेको छ ।
विनायक अक्सिजनले दैनिक ५ सय सिलिन्डर रिफिल गरिरहेको छ । उद्योगका सञ्चालक पुनित सारडका अनुसार विद्युत आपूर्ति सहज नहुँदा उत्पादनमा असर परेको भएपनि बजारमा त्योभन्दा ठूलो समस्या सिलिन्डर अभावको रहेको बताए ।
प्राधिकरणले बिनातालिका लाइन काट्दा अस्पतालमा बसेका बिरामीलाई असर गरेको नोबेल शिक्षण अस्पतालका डाइरेक्ट डा.राजेश नेपालको भनाइ छ । अक्सिजन उत्पादन गर्दा नियमित विद्युत चाहिने बताउँदै उनले विद्युत कटौती हुँदा अक्सिजन उत्पादन घट्ने र बिरामीलाई असर गर्ने बताए ।
कोरोनाको महामारी बढ्दै गएपछि पछिल्लो समयमा उद्योगलाई अक्सिजनको माग धान्न गाह्रो छ । उत्पादन धेरै गर्न सकिने अवस्था भएपनि सिलिन्डर अभावमा उद्योग आधा समयमा मात्रै सञ्चालन हुने गरेको विनायक अक्सिजनका सञ्चालक सारडाको भनाइ छ । अहिले दैनिक ५ सय हाराहारी सिलिन्डर रिफिल गर्ने सो उद्योगले नियमित सञ्चालन गर्दा दैनिक १ हजारसम्म रिफिल गर्नसक्ने जनाएको छ ।
विनायकको रिफिल गरिएका सिलिन्डर विराटनगरका अस्पतालहरुमा आपूर्ति हुने गरेको छ । हिमाल अक्सिजनको उत्पादन पनि विराटनगरका अस्पतालहरूमा खपत हुन्छ । कोरोना सङ्क्रमितको उपचार गरिरहेका अस्पतालहरुमा धेरै अक्सिजन खपत हुने गरेको छ ।
अस्पतालमा बेड अभाव भएका कारण सर्वसाधारणले कोरोना सङ्क्रमितका लागि घरमै अक्सिजन सिलिन्डर होल्डसमेत गरिरहेका छन् । सर्वसाधारणले घरमै सिलिन्डर होल्ड गरेका कारण बजारमा सिलिन्डर पाइन छाडेको छ ।
अक्सिजन उद्योग क्षेत्रमा विद्युत कटौती हुने अवस्थाको अन्त्य गर्न विद्युत प्राधिकरणलाई सकारले निर्देशन दिएको भएपनि त्यसको कार्यान्वयन भएको छैन । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख मिथलेशकुमार गोइवारले हावाहुरीसँगै आएका पानीका कारण विद्युत आपूर्ति रोकिएको बताउँदै समस्या हुन नदिनेगरि काम गरिरहेको बताएका छन् ।
मोरङ सुनसरीमा विनायक अक्सिजन, हिमालय अक्सिजन, दुर्गा अक्सिजन, पाथीभरा र मारुती अक्सिजन उद्योग सञ्चालनमा छन् ।