नवौं चरणको हात्तीपाइलेको औषधी खुवाइँदै

मोरङमा ९ लाख २४ हजार ५ सय ६२ जनालाई हात्तीपाइले विरूद्धको औषधी खुवाउने लक्ष्य

विराटनगर । मोरङमा नवौं चरणको हात्तीपाइले विरूद्धको औषधी आउँदो चैत २० गतेदेखि खुवाइने भएको छ । विराटनगर महानगरपालिकासहित १७ वटा स्थानिय तह रहेको मोरङमा ९ लाख २४ हजार ५ सय ६२ जनालाई हात्तीपाइले विरूद्धको औषधी खुवाउने लक्ष्य रहेको छ ।

स्वास्थ्य कार्यालय मोरङले विराटनगरमा आज पत्रकार सम्मेलन गरि मोरङमा हात्तिपाइलेको औषधि खुवाइने अभियान अन्तिम चरणमा पुगेको जानकारी गराएको हो । जनगणना अनुसार मोरङमा १० लाख ८७ हजार ७ सय ७२ जनसंख्या मध्ये १३ प्रतिशत हात्तीपाइलेको रोगी रहेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश कुमार मेहताले जानकारी दिए ।

मोरङको सुनवर्षी र रंगेली नगरपालिका भित्रको गाउँमा १ सय २० जना हात्तीपाइले रोगीका बिरामी रहेका स्वास्थ्य कार्यलय मोरङले जनाएको छ । ‘त्यही भएर मोरङमा ९ औं पटक हात्तीपाइले विरूद्धको औषधी खुवाइने अभियान सुरू भएको हो,’ स्वास्थ्य प्रमुख डा. मेहताले भने, ‘यस अघि मोरङमा आठौं पटक हात्तीपाइले विरूद्धको औषधी खुवाइ सकेको छ ।’

गत वर्ष मोरङमा ६६ प्रतिशतले हात्तीपाइले विरूद्धको औषधी सेवन गरेको स्वास्थ्य कार्यालयको अभिलेखमा देखिन्छ । स्वास्थ्य कार्यालयका अनुसार गाउँमा भन्दा पनि शहरी क्षेत्रका मानिसले हात्तीपाइले विरूद्धको औषधी कम सेवन गर्ने गरेको पाइएको छ । ‘आम औषधी सेवनबारे गलत धारणाको कारणले शहरी क्षेत्रका मानिसले लक्ष्यभन्दा कम संख्यामा औषधी सेवन गरेको पाइएको छ,’ डा. मेहताले भने, ‘यस पटक खुवाइने औषधी प्रभावकारी बनाएर अगाडि बढ्ने लक्ष्य रहेको छ ।’

मोरङको एक महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिकामा एकै पटक हात्तीपाइले विरुद्धको अभियान सुरू कार्यालयले जनाएको छ । ‘जिल्लाभरीमा २० चैतदेखि हात्तीपाइले विरूद्धको औषधी खुवाइने अभियानको शुभारम्भ हुनेछ,’ स्वास्थ्य कार्यालय प्रमुख मेहताले भने, ‘औषधी खुवाउने केन्द्र स्थानीय तहले तोक्नेछ ।’ यस पटक ५ हजार भन्दा बढी स्वास्थ्यकर्मी परिचालान हुने बताइएको छ ।

कार्यालयले चैत मसान्तसम्मा लक्ष्य अनुसार औषधी खुवाइसक्ने योजना बनाएको छ । यस पटकको कार्यक्रम लक्ष्य लिएको हरेक व्यक्तिले औषधी नखाएसम्म अभियान निरन्तर संचालन हुने स्वास्थ्य प्रमुख मेहताले जानकारी दिए ।

देशभरीमा ६३ वटा जिल्लाका २ करोड ५० लाख मानिस हात्तीपाइले रोगको जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । प्रदेश १ को झापा, मोरङ र धनकुटामा हात्तीपाइले विरूद्धको औषधी खुवाउने अभियान गरिएको हो ।

बुधबार, ११ चैत, २०७७, साँझको ०५:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर