मोरङमा एक सातामा १३ संक्रमित भेटिए

विराटनगर । छिमेकी मुलुक भारतमा पुनः कोरोना भाइरसको संक्रमित बढिरहेको बेला पछिल्लो चार दिनमा मोरङमा भारत पुगेर फर्किएका १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

महामारी नियन्त्रणपछि सामान्य अवस्थामा फर्किएको प्रदेश १ को राजधानी विराटनगरमा पुनः नयाँ संक्रमित भेटिन थालेका हुन् । पछिल्लो चार दिनभित्र मोरङमा १० जना कोरोना संक्रमित भेटिएको र उनीहरु भारत पुगेको फर्किएको पाइएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा.सुरेश मेहताले जानकारी दिनुभयो । संक्रमितमध्ये ६ जना विराटनगरका हुन् भने सुन्दरहरैँचा नगरपालिकाका ३ र पथरीशनिश्चरेका १ जना छन् ।

संक्रमण नियन्त्रणमा आएको भन्दै विराटनगर महानगरपालिकाले पीसीआर परीक्षण बन्द गरिसकेको छ । महानगरले स्वाब संकलन केन्द्र पनि बन्द गरेको अवस्थामा चैत ५ गतेयता भने विराटनगरमा नयाँ संक्रमित भेटिन थालेका हुन् ।

निक्कै लामो समयपछि प्रदेश १ मा चैत ५ गते ८ जनामा संक्रमण देखिएको थियो । जसमा ३ जना विराटनगरका थिए । चैत ६ गते विराटनगरमा १ जनामा संक्रमण देखिँदा प्रदेशमा ६ जनालाई कोरोना पुष्टि भयो । चैत ७ गते नयाँ कोरोना संक्रमित नदेखिएकोमा ८ गते २ जनाको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको छ । ९ गते मोरङमा २, झापामा १ र सुनसरीमा २ जनामा संक्रमण देखिएकोमा १० गते सुनसरीमा २ जना, मोरङमा १ जना र झापामा १ जनामा संक्रमण देखिएको छ ।

कोरोनाका नयाँ बिरामी भेटिन थालेपछि भारतको जोगवनी हुँदै नेपाल प्रवेश गर्ने विराटनगरको रानी नाकामा स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन थालेको जनाएको छ । आवतजावतमा रोक लगाएर एक वर्षदेखि जारी नाका बन्द यथावत राखिएको र भारतबाट नेपाल प्रवेश गर्नेको एण्टीजेन परीक्षण गर्न थालिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिनुभयो ।

नयाँ संक्रमित भेटिन थालेपछि भारतमा सुरु भएको कोरोनाको दोस्रो लहरको असर नेपालमा परेको आशंका विज्ञहरुले गरेका छन् । तर, नयाँ भेरियन्ट हो या हैन भन्ने यकिन गर्न परीक्षण भने गरिएको छैन ।

विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक रमेश कार्कीले नयाँ बिरामी भेटिन थालेपछि भारतमा फैलिएको दोस्रो लहरको कोरोनाको नयाँ भेरियन्ट भित्रिएको हुनसक्ने आशंका गरिएको बताउँदै तत्कालै संक्रमितको ‘कन्ट्याक ट्रेसिङ’ सुरु गरिने बताउनुभयो । कोरोना नियन्त्रणमा आएपछि सर्वसाधारण सामान्य दैनिकीमा फर्किए पनि ढुक्क हुनसक्ने अवस्था नरहेको चिकित्सकहरुले बताएका छन् ।

खुला सीमा भएकाले भारतबाट सहजै रुपमा संक्रमण भित्रने जोखि रहेको बताउँदै कोशी अस्पतालका मेसु डा. चुमनलाल दासले सतर्कता नअपनाए अवस्था थप जटिल र भयावह हुने चेतावनी दिनुभएको छ ।

बुधबार, ११ चैत, २०७७, बिहानको १०:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर