विराटनगर । सरकारले ११ वर्ष अघि नै ‘निवारण’ भएको घोषणा गरेको कुष्ठरोग पीडितहरु मोरङमा भने थपिने क्रम जारी छ । नेपालले सन् २०१० मै कुष्ठरोग निवारण भइसकेको घोषणा गरेको थियो ।
स्वस्थ जीवनशैलीको अभाव र कुष्ठरोगीलाई पापको प्रतिफल मिलेको भन्दै घृणा गर्ने विकृतिले रोग लुकाउने क्रम धेरै छ । यसले रोगीहरुको संख्या बढ्दै गएको हो ।
गत वर्षको प्रथम चौमासिकको तुलनामा यो वर्ष कुष्ठरोगीको संख्या ६३ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७६÷०७७ को प्रथम चौमासिकमा मोरङमा कुष्ठरोेगका ११ जना सक्रिय संक्रमितहरु थिए । तर, चालु आर्थिक वर्षमा संक्रमितहरुको संख्या बढेर ३० पुगेको छ । जसमा १८ महिला र १२ पुरुष छन् ।
चालु आर्थिक वर्षको प्रथम चौमासिक अन्तर्गत मोरङको कटहरीमा २ पुरुष, धनपालथानमा १ पुरुष, रङ्गेलीमा ३ महिला र १० पुरुष, सुनबर्षीमा १ महिला र १० पुरुष तथा रतुवामा ४ महिला र १ पुरुषमा कुष्ठरोगको नयाँ संक्रमण देखा परेको छ । यस्तै मोरङको उर्लाबारीमा पनि १ महिला र २ पुरुष, सुन्दरहरैंचामा १ महिला र १ पुरुष, बेलबारीमा १ महिला, बुढीगङ्गामा १ पुरुष तथा विराटनगरमा ७ महिला र ४ पुरुषमा कुष्ठरोगको संक्रमण देखिएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।
संक्रमण भइसकेपछि पनि समयमै उपचार नगराउने र रोग लुकाउने प्रवृत्तिका कारण कुष्ठरोगीको संख्या बढेको स्वास्थ्य कार्यालयले जनाएको छ । यसबाहेक कोरोना महामारीले गर्दा उपचार प्रक्रिया प्रभावित हुँदा पनि यो वर्ष रोगीको संख्यामा बृद्धि भएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख सुरेश मेहताको भनाइ छ ।
जनस्वास्थ्यकर्मीहरुका कुष्ठरोग ‘माइक्रो ब्याक्टेरियम लेप्रे’ नामक सूक्ष्म जीवाणुको संक्रमणबाट लाग्ने रोग हो । यो रोगले मुख्यतः छाला र स्नायुका टुप्पाहरूमा आक्रमण गर्छ । त्यसबाहेक, यसले नाकको भित्री भित्ता तथा माथिल्लो श्वासनलीमा पनि आक्रमण गर्छ ।
यो रोग लागेपछि छालामा दागहरु देखिने, स्नायु प्रणाली प्रभावित हुने, नसा सुन्निने, दुख्ने तथा सुक्ने, पक्षघात हुने र शरीरका विभिन्न भागमा घाउ खटिरा हुनेलगायतका लक्षणहरु देखा पर्छन् । कुष्ठरोग लागेपछि छाला रातो हुने, अनुहारको छाला बाक्लो हुने, गिर्खाहरू देखापर्ने र स्नायुमा असर गर्दा हात तथा गोडामा छुँदा थाहा नहुने लगायतका लक्षणहरु पनि देखा पर्ने गरेको कोशी अस्पताल विराटनगरका कुष्ठरोग क्लिनिक इञ्चार्ज केशव बस्नेतले जानकारी दिनुभयो ।
किन बढ्दैछ कुष्ठरोग ?
नेपाली समाजमा अहिले पनि कुष्ठरोगीलाई पापको प्रतिफल मिलेको भन्दै घृणा गर्ने मानसिकता विद्यमान छ । अझैपनि समाजको घृणाका कारणले कुष्ठरोगी खुलेर उपचारको दायरमा आउन सकेका छैनन् ।
मुलुक संघीय प्रणालीमा रुपान्तरण भएसँगै कुष्ठरोग नियन्त्रणको लागि जनशक्ति घटाउँदा कुष्ठरोग निवारण कार्यक्रम नियन्त्रण बाहिर गएको चिकित्सकहरुको बुझाई छ । नेपाल सरकारले पनि ‘स्क्रिनिङ प्रोग्राम’ मार्फत कुष्ठरोगीहरु पत्ता लगाई यो रोगलाई निर्मुल पार्ने प्रयास गरिरहेको छ ।
यसको रोकथामका लागि सरकारले सन् २०१५ देखि नै आम नागरिकलाई ‘रिफामपिसिन’ नामक निःशुल्क औषधिसमेत खुवाउँदै आएको छ । सरकारले २ देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई १५०, ६ देखि ९ वर्ष उमेर समूहकालाई ३००, १० देखि १४ वर्ष उमेर समूहका लाई ४५० र १५ वर्षमाथिका उमेर समुहलाई ६०० एम.जी.को एक डोज औषधी खुवाउँदै आएको स्वास्थ्य कार्यालय मोरङले जानकारी दिएको छ ।
यस्तै २ वर्ष मुनिका बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा, क्षयरोगी र दीर्घरोगीहरुको हकमा भने सम्बन्धित स्वास्थ्य कार्यालयले लिस्ट तयार पारेर उनीको निगरानीसमेत गर्दै आएको जनाएको छ ।
यस्तो छ, उपचार पद्दति
कुष्ठरोग सरुवा रोग भएपनि अन्य रोगभन्दा कम खतरनाक मानिन्छ । यो रोग अन्य सरुवा रोगजस्तो तुरुन्तै सर्दैन । यसको उपचार पनि तुलनात्मक रुपमा सजिलो हुन्छ ।
कुनै परिवारका सदस्यमा कुष्ठरोग भेटिएको छ भने दोस्रो व्यक्तिलाई रोग सर्न नदिनका लागि ‘लेप्रोसी पोस्ट एक्सपोजर प्रोफेलेक्सिस’ अन्तर्गत एक मात्रा औषधि खुवाए रोग सर्ने सम्भावना ६० प्रतिशतसम्म न्युनीकरण भएर जान्छ । यो रोग कम किटाणु भएको ‘प्यासी ब्यास्लरी’ (पीबी) र बढी किटाणु भएको ‘मल्टी ब्यास्लरी’ (एमबी) गरी दुई प्रकारको हुन्छ ।
नेपालमा पीबीभन्दा पनि एमबीको कुष्ठरोगीहरू बढी रहेको चिकित्सकहरुले जनाएका छन् । रोग दुई किसिमको भए जस्तै उपचार पनि दुई किसिमकै हुन्छ । पीबी कुष्ठरोगको उपचार ६ महिनासम्म गर्नुपर्ने हुन्छ भने एमबीको उपचार १२ महिनासम्म गर्नुपर्ने हुन्छ । उपचारपछि कुष्ठरोग पूर्ण रूपमा निको पार्न सकिने चिकित्सकहरुले सुझाएका छन् ।