विराटनगर । प्रदेश १ सरकारले उर्लाबारी नगरपालिकास्थित मंगलबारे अस्पतालको नाम परिवर्तन गरि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाएपनि स्तरोन्नतिको काम भने भएको छैन ।
अस्पताल तथा ट्रमा सेन्टर बनाउने सरकारको निर्णय त्यहाँको सेवा सुविधामा हैन लेटरप्याड र छाप परिवर्तन गर्ने काममा मात्र सीमित बनेको छ ।
प्रदेश सरकारको २०७६ पुस २२ गते बसेको मन्त्रिपरिषद् बैठकले साविक १५ शय्याको अस्पताललाई विशेषज्ञ सेवासहितको ५० शय्यामा स्तरोन्नति गरी प्रदेश सरकार मातहत ल्याउने निर्णय गरेको थियो । तर, अझैसम्म त्यो निर्णय कार्यान्वयन भएको छैन । अस्पताल साविक १५ शय्याको अस्पतालका जनशक्तिबाटै सञ्चालनमा छ ।
सरकारको निर्णय एक वर्ष पूरा भएपनि त्यसका लागि अस्पतालको शय्या वृद्धि र आवश्यक जनशक्ति पदपूर्ति गर्ने काम हुन नसकेको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा.योगेश मण्डलले जानकारी दिनुभयो । अत्याधुनिक प्रविधि र उपकरणसहितको अस्पताल बनाउने भन्दै सरकारले १ करोड रुपैयाँ बजेट छुट्याएको थियो ।
अस्पतालको नाम, लेटरप्याड र छाप परिवर्तन गर्ने बाहेकका अन्य काम अगाडि नबढेको निमित्त मेसु मण्डलले बताउनुभयो । अस्पताल करार सेवाका चिकित्सकको भरमा सञ्चालन हुँदै आएको छ । दरबन्दीका चिकित्सक नभएका कारण सेवा प्रवाह प्रभाबकारी छैन ।