विराटनगर । प्रदेश नम्बर १ मा १० लाख बढिले स्वास्थ्य बिमा गरेका छन् । प्रदेश एकका १४ जिल्लामध्ये १३ जिल्लाका १० लाख ९६ हजार ५३९ जनाले स्वास्थ्य बीमा गराएका हुन् ।
१४ जिल्लामध्ये ताप्लेजुङमा भने कार्यक्रम लागू भइसकेको छैन । २०७७ को चैतसम्म ताप्लेजुङमा पनि कार्यक्रम लागू हुने प्रदेशको स्वास्थ्य बीमा बोर्ड कार्यालयले जनाएको छ ।
स्वास्थ्य बिमा परिचयपत्र नवीकरण गर्नेको संख्यासमेत उत्साहजनक रहेको कार्यालयले जनाएको छ । बोर्डले प्रदेशका हरेक जिल्लामा आधारभूत एवं जटिल स्वास्थ्योपचार दिन सक्षम सरकारी एवं निजी स्वास्थ्य संस्थालाई सेवा प्रदायकका रूपमा यो कार्यक्रममा समेटेको छ ।
झापामा देशकै सबैभन्दा बढी ४ लाख १३ हजार १८२ जना बीमित सदस्य छन् । दोस्रोमा सुनसरीबाट २ लाख ७३ हजार २६७ र तेस्रोमा मोरङबाट १ लाख ९३ हजार ७०३ जनाले स्वास्थ्य बीमा गराएका छन् ।
प्रदेश १ मा सबैभन्दा पहिले २०७३ असार १५ मा इलाममा यो कार्यक्रम लागू भएको हो । इलाममा ९७ हजार १ सय ५६ बीमित सदस्य छन् । सोलखुम्बुमा बीमित सदस्य कम रहेको र अन्य पहाडी जिल्लामा बीमितको संख्या सन्तोषजनक रहेको कार्यालयले जनाएको छ ।
सोलुखुम्बुमा ६ हजार ७३७ जनाले स्वास्थ्य बीमा गराएका छन् । सबैजसो जिल्लामा बीमित सदस्यमध्ये महिला बढी छन् । स्वास्थ्य बिमासम्बन्धी ऐन, २०७४ अनुसार ५ जनासम्मको परिवारका लागि वार्षिक ३ हजार ५०० रुपैयाँ तिरेपछि स्वास्थ्य बीमा परिचयपत्र दिने गरिएको छ ।