ओलीले सार्वभौमसत्ता कै विघटन गर्न खोजे: प्रचण्ड

प्रतिक्रान्तिका गोटी भएको आरोप

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली प्रतिक्रान्तिका गोटी भएर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउनुभएको छ ।

शुक्रबार विराटनगरमा आयोजित प्रदेश १ स्तरीय विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री प्रतिकृयावादीहरुको गोटी भएको र दलाल पूँजीपतिहरुको घेराबन्दी बसेर देशको सार्वभौमिकतालाई नै विघटन गर्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको हो । ‘ यो सार्वभौम नेपाललाई विघटन गर्ने षड्यन्त्र हो,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ‘नेपालको सार्वभौमिकतालाई विघटन गर्न संविधान विघटनको प्रयत्नस्वरुप प्रतिनिधि सभा विघटन गरिएको हो तर जनता जागेपछि उनी चुट्कीका भरमा ढल्नेछन् ।’

जनताका प्रतिनिधिले इतिहासमा पहिलो पटक बनाएको संविधान विघटन गर्ने उद्देश्यबाट प्रधानमन्त्रीले संविधानको मर्म र भावना विपरित प्रतिनिधि सभा विघटन गरेको भन्दै अध्यक्ष प्रचण्डले जनताले प्रधानमन्त्री उक्त प्रयत्न असफल बनाउने चेतावनी दिनुभयो ।

प्रधानमन्त्री ओली नेपाली कम्युनिष्ट आन्दोलनका बेइमान, ठग र धुर्त पात्र भएको भन्दै अध्यक्ष प्रचण्डले केपी ओलीले प्रतिनिधि सभा विघटन नहुने जिकिर पनि गर्नुभएको छ । उहाँले प्रतिनिधि सभा जिवितै रहेको दोहो¥याउँदै आवश्यक परेको खण्डमा प्रतिनिधिसभाको बैठक बसेर ओलीलाई कारवाही गर्ने चेतावनी पनि दिनुभयो । ‘आवश्यक पर्यो भने सभामुखले प्रतिनिधि सभाको बैठक आव्हान गर्नुहुनेछ र हामी सबै बैठकमा सहभागी हुनेछौं,’ प्रचण्डले भन्नुभयो ‘त्यो बैठकले प्रधानमन्त्रीलाई कारवाही गर्ने र प्रधानमन्त्रीबाट हटाउने छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डमा परिवारवाद हावी भएको र छोरीज्वाईलाई मात्र हेर्ने गरेको आरोप लगाउने गरेको भन्दै उहाँले छोराछोरी हुनु आफ्नो दोष नभएको बताउनुभयो । ‘म मा नपुंशकता भएन, छोराछोरी भए त मेरो के दोष भयो ?’ प्रचण्डले प्रश्न गर्दै भन्नुभयो ‘मैले छोराछोरीलाई अमेरिका पढ्न पठाइन रोल्पामा लड्न पठाएँ के त्यो मेरो दोष हो ?’ उहाँले आफुले छोराछोरीका लागि केही गरेको भन्दै आलोचना गर्नेले धर्म छोराछोरीको नाममा कोच्याउने कामलाई जनताले हेरिरहेको टिप्पणी पनि गर्नुभयो ।

नेकपालाई एकजुट बनाएर देशका सर्वहारा मजदुर किसानका लागि काम गर्ने तयारी गर्दागर्दै छोरी र छोराको मृत्यु भएको तरपनि अभियान नरोकेको उहाँको भनाई थियो । अध्यक्ष प्रचण्डले अब आफ्नो लागि देशका सबै युवाहरु आफ्ना भएको भन्दै देशका लागि केही गरेर मर्ने चाहना राखेको र व्यक्तिगत लाभका लागि केही गर्न जरुरी नभएको भन्दै प्रतिगमनका विरुद्धमा सशक्त भएर उभिन आग्रह गर्नुभयो ।

शुक्रबार, १६ माघ, २०७७, साँझको ०६:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर