विराटनगरमा बृहद् प्रदर्शनको तयारी

विराटनगर । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को १ नं. प्रदेश कमिटिले आज विराटनगरमा बृहद् प्रदर्शन गर्दैछ ।

विराटनगरको जनआन्दोलन चोकमा हुने कार्यक्रममा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भद्रपुर विमानस्थल हुँदै विराटनगर आउँदै हुनुहुन्छ । विराटनगरको मौसमको कारण विहान हवाई उडान नभएकोले उहाँ भद्रपुर भएर आउन लाग्नुभएको नेकपाले जनाएको छ ।

सभामा सहभागी हुन नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपाल र बरिष्ठ नेता झलनाथ खनाल बिहीबार साँझ नै विराटनगर आइसक्नुभएको छ । मध्यान्ह १२ बजेबाट हुने सभा अगाडि विराटनगरको बरगाछी, तीनपैनी, रोडशेष चोक र हाटखोलाबाट जुलुस प्रदर्शन हुने पार्टीका प्रदेश सचिब हिमाल राईले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा पार्टीको बहुमत नेतृत्व आन्दोलनमा छ । आन्दोलनको क्रममा प्रदेशको राजधानी विराटनगरमा प्रदेशस्तरीय विरोधसभा हुन लागेको हो ।

प्रदर्शनमा ६० हजार हाराहारीमा कार्यकर्ता सहभागी हुने पार्टीले जनाएको छ । सभाको लागि विराटनगरको जनआन्दोलन चौकमा सडकको पश्चिमतर्फ मञ्च निर्माण गरिएको छ । सहभागीहरु भने चोकबाट उत्तर र दक्षिणतर्फको मुख्य सडक तथा ट्राफिकचौक तर्फको हिमालय रोडमा रहेनछन् । सभा सुरु भएपछि विराटनगरको यातायात प्रभावित हुनेछ ।

विरोध प्रदर्शनकै लागि गाउँगाउँबाट नेकपा कार्यकर्ता विराटनगर आउन थालेका छन् ।विरोध प्रदर्शनको अघिल्लो साँझ मसालजुलुस निकालिएको थियो ।

शुक्रबार, १६ माघ, २०७७, बिहानको ११:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर