विराटनगर । उपप्रधानमन्त्री इश्वर पोखरेलले अदालतलाई कसैले पनि प्रभावित गर्न नहुने बताउनुभएको छ । प्रधानमन्त्रीको अभिव्यक्ति वा सडकमा भइरहेको प्रदर्शनहरुले अदालतमा बिचाराधीन मुद्दा प्रभावित भएको भन्ने सञ्चारकर्मीको प्रश्नमा उपप्रधानमन्त्री पोखरेलले कसैले पनि अदालतलाई प्रभावित पार्न नहुने बताउनुभएको हो ।
विराटनगरबाट काठमाण्डौ फर्कने क्रममा उहाँले बिहीबार अपरान्ह शक्तिपृथकीकरणको सिधान्नत अनुसार अदालत चल्ने र उसले गरेको निर्णय आफुहरुलाई मान्य हुने बताउनुभएको छ ।
उपप्रधानमन्त्री पोखरेलले नियम कानून र संविधानको दायरा भित्र सबै बस्नु पर्ने भन्दै संविधान भन्दा बाहिरबाट कुनै निर्णय नहुने पनि बताउनुभएको छ । प्रधानमन्त्रीले संविधानको पालना गर्नुहोला त भन्ने प्रश्नमा उहाँले भन्नुभयो ‘संविधानको पालना प्रधानमन्त्रीले मात्र होइन सबै जनताले उस्तैगरी पालना गर्नुपर्छ ।’
अहिले नेकपा विभाजन नभएको दावी गर्दै नेता पोखरेलले निर्वाचन आयोगले १२ गते नै विवाद निरुपण गरेको र आगामी दिनमा गर्ने निर्णय पनि आफुहरुलाई स्वीकार्य हुने बताउनुभयो ।
जुन कुराले पार्टी विभाजनको अवस्थामा पुग्यो त्यसलाई सच्याउदै निर्वाचनमा जान तयार भए पार्टी एकताको सम्भावना कायम रहेको उपप्रधानमन्त्री पोखरेलले बताउनुभयो ।
पार्टी भित्रको विवादले उत्पन्न गरेको परिस्थिति बारेमा जानकारी गराउन आफुहरु जनताको बीचमा गएको स्पष्ट पार्दै लोकतन्त्रमा जनताका बीचमा जानु स्वभाविक भएको उहाँको भनाई थियो ।