अविश्वासको प्रस्ताव शतप्रतिशत पारित हुने आचार्यको दावी

माघ १६ गते विराटनगरमा जनप्रदर्शनको तयारी

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज भीम आचार्यले प्रदेशसभा सचिवालयमा पेश भएको अविश्वासको प्रस्ताव पारित हुने बताउनुभएको छ ।

नेकपा प्रदेश १ कमिटीको तर्फबाट बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता आचार्यले विपक्षी दलहरुको सहयोगमा अविश्वासको प्रस्ताव पारित हुनेमा आफु विश्वस्त रहेको बताउनुभएको हो ।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको प्रतिगमनकारी कदमको विरोधमा सबै राजनीतिक दलहरु आन्दोलनमा रहेकोले पनि प्रदेशसभाबाट अविश्वासको प्रस्ताव सहजरुपमा पारित हुने वातावरण बनेको नेता आचार्यको भनाई थियो । उहाँले अविश्वासको प्रस्ताव पारित हुँदैन की भनेर कसैले पनि आशंका गरिरहनु पर्ने अवस्था नरहेको टिप्पणी गर्नुभयो ।
अविश्वासको प्रस्ताव पारित भएपछि नयाँ सरकार गठनको प्रकृया आरम्भ हुने उहाँले बताउनुभयो । नयाँ सरकार बनाउने विषयमा सबै दलहरुसँग छलफल गर्ने र सबै विकल्पमा खुला भएर अघि बढ्ने उहाँले बताउनुभयो ।

प्रदेश सरकारले जनभावना अनुसार काम नगरेको, प्रदेश नामाकरणको प्रकृयामै प्रवेश नगरेको राजधानी घोषणा गरेपनि त्यसको संरचनाहरु निर्माण नगरेको घोषणापत्र अनुसार सरकार अघि नबढेको साथै पछिल्लो समय प्रतिनिधिसभा विघटनको पक्षमा मुख्यमन्त्रीको समर्थन भएपछि अविश्वासको प्रस्ताव दर्ता गर्नुपरेको नेता आचार्यले बताउनुभयो ।
प्रदेशसभामा सत्तारुढ नेकपाकै ३७ जना सांसदहरुले एक महिना अघि मुख्यमन्त्री शेरधन राई विश्व विश्वास नभएको भन्दै अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्तावमा भावी मुख्यमन्त्रीको रुपमा नेता भीम आचार्यलाई नै प्रस्ताव गरिएको छ ।

अविश्वासको प्रस्तावको पक्षमा जनता समाजवादी पार्टी नेपालले मतदान गर्ने स्पष्ट गरिसकेको र नेपाली कांग्रेससँग पनि अनौपचारिक तथा औपचारिक छलफल भइसकेको भन्दै नेता आचार्यले भन्नुभयो ‘अविश्वासको प्रस्ताव शतप्रतिशत पारित हुन्छ । यसमा कोहीपनि द्वीविधामा पर्नु आवश्यक छैन ।’

दलभीत्र सुविधाजनक बहुमत आफुहरुसँग रहेकोले सानादल र नेपाली काग्रेंससमेतको सहयोगमा प्रदेशसभाबाट उक्त प्रकृया टुंगिने उहाँको भनाई छ । नेता आचार्यले अविश्वासको प्रस्ताव दर्ता गर्दा हस्ताक्षर गर्ने ३ जनाले फिर्ता गरेपनि अरु दुईतीन जनाले आफुहरुलाई समर्थन गरेको उहाँको भनाई थियो ।

प्रदेश सरकार प्रष्ट अल्पमतमा रहेकोले छिटोभन्दा छिटो यो प्रकृया टुंग्याउनु पर्ने नेता आचार्यले बताउनुभएको छ । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारी काठमाण्डौबाट आएपछि दलहरुसँग छलफल गरेर बैठक राख्ने वातावरण बनाउने उहाँको विश्वास थियो ।

प्रधानमन्त्रीले संविधान विपरित प्रतिनिधि सभा विघटन गर्ने कार्यको विरोधमा देशव्यापी आन्दोलन भइरहेको र प्रदेश १ को राजधानी विराटनगरमा माघ १६ गते जनप्रदर्शनको तयारी पुरा भएको नेता आचार्यले बताउनुभयो । विराटनगरको आमसभालाई सम्बोधन गर्न नेकपाका अध्यक्षद्वय विराटनगर आउने र सभामा ६० हजारभन्दा बढी सहभागी गराउने तयारीसाथ पार्टी परिचालन भएको उहाँले बताउनुभयो ।

बुधबार, १४ माघ, २०७७, दिउँसोको ०४:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर