विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको लाखौं रुपैयाँ हिनामिना गरेको आरोपमा प्रशासकीय अधिकृतसहित दुई जना पक्राउ परेका छन् ।
फर्जी कर्मचारी देखाएर लाखौं रुपैयाँ हिनामिना गरेको आरोपमा विराट मेडिकल कलेजका प्रशासकीय अधिकृत जनकपुर–८ घर भई विराटनगर बस्दै आएका ४२ वर्षे सुधिरसिंह राठौर र कम्प्युटर शाखामा कार्यरत सुनसरी देवानगन्जका २० वर्षे राजनारायण चौधरी मंगलबार पक्राउ परेका हुन् ।
राठौर करिव चार वर्ष अघिदेखि विराट मेडिकल कलेजमा कार्यरत छन् । उनले अस्पतालमा जागिर खान आवेदन दिएका पाँच जना व्यक्तिहरूको नागरिता प्रयोग गरि लाखौं रुपैयाँ हिनामिना गरेको आशंका गरिएको छ । सोही उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
राठौरले गत भदौदेखि अञ्जली झाँगड ऋषिदेव, रमिता भगत, राजबती झाँगड ऋषिदेव, रीताकुमारी थापा मगर र सुनिता ऋषिदेवलाई जागिरमा लगाएको नक्कली विवरण बनाएर पैसा हिनामिना गरेको खुल्न आएको प्रहरीले जनाएको छ । ‘नक्कली कर्मचारी खडागरि मेडिकल कलेजको पैसा अपचलन गरेको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ,’ मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले भन्नुभयो, ‘मेडिकल कलेजबाट कति पैसा कसरी अपलन गरेको रहेछ । त्यो पछि अनुसन्धानबाट खुल्नेछ । अहिले हामी अनुसन्धान गर्दैछौं ।’
राठौर मेडिकल कलेजका संचालक डा. ज्ञानेन्द्रमानसिंह कार्कीका विश्वासिला व्यक्ति मानिन्थे । सोही विश्वासका कारण डा. कार्कीले उनलाई प्रशासकीय अधिकृतको जिम्मेवारी मिलेको थियो । ‘गत भदौ महिनादेखि पाँच जना व्यक्तिहरू मेडिकल कलेजमा काम गरेको विवरणमा देखिन्छ । तर फिल्ड र स्टाफ लिस्टमा कर्मचारी देखिदैन । उनीहरूको नाममा भने पैसा झिकेको देखिन्छ,’ विराट मेडिकल कलेजले दिएको निवेदनमा उल्लेख छ । राठौरले नक्कली कर्मचारी नियुक्त गरेको कर्मचारीको नाममा माछापुछ्रे बैंकमा खाता खोलेको पाइएको छ । नक्कली कर्मचारी खडा गरेमध्ये रमिता भगतको बैंक खातामा जम्मा भएको ५१ हजार रुपैयाँ बैंकबाट विनोद भगत नाम गरेका व्यक्तिले झिकेका खुलेको छ ।
विराट मेडिकल कलेजका संचालक डा. ज्ञानेन्द्रमानसिंह कार्कीले नियुक्ती गरेको कर्मचारी कार्यालयमा नभेटेको पैसा अपचलन भएको पाएपछि प्रहरीमा उजुरी दिएको बताउनुभयो । ‘हामीले प्रहरीमा उजुरी दिएका छौं । अहिले अनुसन्धान भइरहेको होला । यस विषयमा सबै कुरा प्रहरीले बताउनेछ,’ कार्कीले भन्नुभयो ।
यसरी परे राठौर फन्दामा
प्रमुख प्रसासकीय अधिकृत सुधिरसिंह राठौरको मासिक तलब विराट मेडिकल कलेजमा ६० हजार रुपैयाँ छ । उनी चार वर्षदेखि मेडिकल कलेजमा कार्यरत छन् । राठौर विश्वासिलो पात्र भएको कारणले तल्लो दर्जाका कर्मचारी आफै नियुक्ति गर्ने जिम्मेवारी डाक्टर कार्कीले दिनुभएको थियो । त्यही भएर उनले गत भदौमा पाँच जना कर्मचारी नियुक्त गरेको डाक्टर कार्कीलाई जानकारी गराए । तर फिल्डमा राठौरले नियुक्त गरेको कर्मचारी देखिएनन् । भदौदेखिको तलब भने उनीहरुको नाममा गइरहेको थियो । ‘अस्पतालका संचालकले पछि तलब दिएका कर्मचारीको नाम खोज्दा फिल्डमा देखिदैन । त्यसपछि फर्जी कर्मचारी राखेर पैसा असुली गरेको खुलेको हो,’ एक प्रहरी अधिकारीले भने ।
गत आइतबार मोरङ प्रहरीमा दिएको जाहेरीका आधारमा प्रहरीले राठौरसहित कम्युष्टर शाखाका कर्मचारी चौधरीलाई पक्राउ गरि अनुसन्धानमा ल्याएको हो । उनीहरूलाई प्रहरीले मंगलबार ठगी मुद्दामा म्याद थप गरि अनुसन्धान गर्ने तयारी गरेको छ ।