बेलबारी । मोरङको बेलबारी–४ मा निर्माण गरिएको आधारभूत स्वास्थ्यचौकीको भवन उद्घाटन गरिएको छ । नगरपालिकाका नगर प्रमुख (मेयर)ज्ञानेन्द्र सुवेदीले भवनको उद्घाटन गर्नुभएको हो ।
भवन उद्घाटन गर्दै नगरपालिकाका नगर प्रमुख सुवेदीले सबै वडामा आफ्नै भवनबाट सेवा दिने गरी काम गरिरहेको बताउनु भयो । बेलबारीका २, ३, ६ र १० नम्बर वडामा स्वास्थ्य चौकीका भवनहरू निर्माण भइरहेका छन् भने अन्य १, ४, ५, ७, ८, ९ र ११ नम्बर वडामा आफ्नै भवनबाट स्वास्थ्य सेवा नगरपालिकाले दिइरहेको छ । नगरपालिकामा मुटुरोग, मिर्गाैला प्रत्यारोपण, बोनम्यारो ट्रान्सप्लान्ट र स्पाइनल कर्ड इन्जुरीका बिरामीहरूलाई अहिलेसम्म १ करोड भन्दा बढी सहयोग गरिसकेको नगर प्रमुख सुवेदीले बताउनु भयो । नगरपालिकाले पाँच प्रकारका बिरामीलाई उपचारका लागि प्रतिव्यक्ति २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्दै आएको छ ।
यस्तै बेलबारी ४ मै १५ शैया बेडको अस्पतालसमेत शिल्यान्यास भइसकेको छ । नगरको पहिलो प्राथमिकता स्वास्थ्य रहेको नगर प्रमुख सुवेदीको भनाइ छ । भवन उद्घाटन कार्यक्रममा जग्गा दाता कृष्ण माया दुलाल र कृष्णप्रसाद दुलाललाई सम्मान गरिएको छ ।
यसैगरी बेलबारी नगरपालिकाले महिलाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर गरिरहेको छ । माघ ११ गते देखि नगरका विभिन्न वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको नगरपालिकाको कार्यालयले जनाएको छ । निःशुल्क स्वास्थ्य शिविरमा अब्स्टेटिक फिस्टुला र पाठेघर खस्ने महिलाहरूको इस्केनिङ रिगंपेशरी तथा भि.आई.ए.जाँच सेवा साथै आँखा जाँच सेवा समेत संचालन गरीरहेको नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताउनु भयो ।
उहाँका अनुसार बेलबारी वडा नं. ४, ६ र ७ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भइसकेको छ । माघ ११ गते प्राथमिक स्वास्थ्य केन्द्र, बेलबारी ७ बाहुनी र आधारभूत स्वास्थ्य सेवा केन्द्र बेलबारी ६, बोराबादमा माघ १२ गते तथा १३ गते बेलबारी ४ मा शिविर संचालन गरिएको थियो ।