विराटनगर । ब्राउन सुगर (खैरो हेरोइन)सहित मोरङको रतुवामाई नगरपालिका– ५ आमबारीबाट सोमबार दिउँसो एक जना भारतीय नागरिकसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत अररीयाका २२ वर्षीय मोहम्मद नबाब आलम र रतुवामाई–२ झुर्कियाका ४४ वर्षीय मोहम्मद रफिक मियाँ रहेका छन् । प्रहरीले उनीहरूको साथबाट एक सय २६ ग्राम १४ मिलिग्राम ब्राउन सुगर बरामद भएको मोरङ प्रहरीले जनाएको छ ।
विशेष सुराकीका आधारमा प्रदेश १ प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीको संयुक्त टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो । दुवै जना ब्राउन सुगरका ठूला कारोबारी भएको र भारतबाट नेपाल भित्राएर विभिन्न ठाउँमा ‘सप्लाई’ गर्ने धन्दामा उनीहरुको संलग्नता रहेको सूचना यसअघि नै प्रहरीमा आइपुगेको थियो ।
पक्राउ परेको समयमा दुवै जना भारतीय नम्बर प्लेटको बीआर ३७ यू ५८२३ नम्बरको मोटरसाइकलमा थिए । भारतीय युवक मोटरसाइकल चालक हुन् । भारतीय युवकको साथबाट एक सय १३ ग्राम १६ मिलिग्राम ब्राउन सुगर बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । त्यसपछि झुर्कियास्थित रफिकको घरमा प्रहरी छापा हान्न पुगेको थियो । उनको घर खानतलासी गर्दा १२ ग्राम ९८ मिलिग्राम फेला परेको एसपी खड्काले बताउनु भयो ।
पक्राउ परेकाहरुले भारतबाट भित्राएर पूर्वका उर्लाबारी, दमक, इटहरी, धरान लगायतका शहरमा ब्राउन सुगर ‘सप्लाई’ गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरुको ‘कनेक्सन’ पूर्वका केही व्यक्तिसँग रहेको पाइएको छ । प्राप्त सूचना र उनीहरुको ‘कनेक्सन’का आधारमा नेपालमा रहेर ब्राउन सुगरको कारोबार गर्ने गिरोहको खोजीमा पूर्वका विभिन्न शहरमा अहिले प्रहरीको भिन्दाभिन्दै टोली परिचालन भइसकेको छ । ब्राउन सुगर विश्व बजारमा उच्च गुणस्तरको र महँगो लागुऔषधमध्येको हो ।