विरामीको मृत्युपछि क्लिनिक तोडफोड

विराटनगर । पित्तथैलीको शल्यक्रिया गर्न भर्ना भएकी महिलाको मृत्यु भएपछि विराटनगरको अवधनारायण मेमोरियल क्लिनिकमा तोडफोड भएको छ ।

बेलबारी नगरपालिका– ८ की ३२ वर्षीया सजना राईको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित बनेका आफन्तले चिकित्सकले लापर्वाही गरेको भन्दै आइतबार क्लिनिकमा तोडफोड गरेका हुन् ।

क्लिनिकमा पित्तथैलीमा भएको पथरी झिक्न शल्यक्रिया गरिएकी महिलाको स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारको लागि सुनसरीको धरान लगिएको थियो । उनको उपचारको क्रममा शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

अवधनारायण मेमोरियल क्लिनिकले शल्यक्रिया गर्दा लापरबाही गरेकोले विरामीको मृत्यु भएको आफन्तको आरोप छ । सजना पुस २८ गते विराटनगर–७ स्थित क्लिनिकमा भर्ना भएकोमा सोही दिन शल्यक्रिया भएको थियो ।

शल्यक्रियापछि अवस्था जटिल बन्दै गएकोमा क्लिनिकमा आईसीयूसहित अत्यावश्यक सेवा नभएपछि उनलाई क्लिनिकले २९ गते प्रतिष्ठान धरान रेफर गरेको मृतकका बाबु होमकुमार राईले जानकारी दिनुभयो । क्लिनिकको लापरबाहीका कारण छोरीको मृत्यु भएको उहाँको भनाइ छ ।

आइतबार आफन्तले क्लिनिकमा जम्मा भएर दोषीलाई कार्वाहीको माग गर्दै तोडफोड गरेका थिए । तोडफोडको आरोपमा तीन जनालाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाले अवस्थालाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको बताउनुभयो ।

आफन्तले अवधनारायण मेमोरियल क्लिनिकले लापरवाही गरेको भन्दै शव बुझेका छैनन् । लापरवाही गर्ने चिकित्सकलाई कारवाही गर्नुपर्ने माग गर्दै आएका छन् ।

सोमबार, ०५ माघ, २०७७, दिउँसोको १२:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर