उदयपुर । कानूनी मान्यता पाउन बाँकी रहेपनि राजनीतिक रुपमा विभाजित भइसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदयपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको समूह उदयपुरमा रक्षात्मक देखिएको छ ।
उदयपुरमा रहेका पार्टीका केन्द्रदेखि प्रदेश, जिल्ला र नगर÷गाउँपालिका कमिटी सबैतिर ओली समूह अत्यन्तै कमजोर देखिएको हो ।
उदयपुरबाट नेकपा केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने ४ जनामध्ये ओली पक्षमा एक जना छन् भने प्रचण्ड–माधव समूहमा ३ जना खुलेका छन् । पार्टीको केन्द्रीय सदस्य प्रदेश प्रदेश सचिब एवं प्रतिनिधिसभा सदस्य सुरेशकुमार राई, जिल्ला इञ्चार्ज रहेका त्रियुगा नगरपालिका प्रमुख बलदेव चौधरी र अर्का केन्द्रीय सदस्य जगन्नाथ खतिवडा प्रचण्ड नेपाल समूहमा छन् । केन्द्रीय सदस्य एवं जिल्ला सह–इञ्चार्ज मन्जुकुमारी चौधरी भने ओली समूहमा छन् ।
नेकपा प्रदेश कमिटीमा उदयपुरबाट १७ जनाको प्रतिनिधित्व रहेकोमा ११ जना प्रचण्ड–नेपाल समूहमा खुलेका छन् । ६ जना मात्र ओली समूहमा छन् । प्रदेश कमिटि सदस्यहरु राजकुमार राई, अम्बरबहादुर रायमाझी, मोहन खत्री, भीम अधिकारी (अनिल), राजन किराती, नारायण बुर्जा, मणि खम्बु, भेषकुमारी राउत, निरज पौडेल, काजीमान तामाङ र केपी बराज प्रचण्ड–नेपाल पक्षमा उभिएका छन् । ओली समूहमा मणि पौडेल, अम्बिका थापा, बेदप्रसाद पोखरेल, भीमकुमारी राउत, लक्ष्मीनारायण चौधरी र नवराज पोखरेल छन् ।
पार्टीको जिल्ला अध्यक्ष दिवस कटवाल र सचिब ईश्वरमणि राउत दुबै प्रचण्ड नेपाल समूहमा खुलेपछि ओली पक्षले छुट्टै कमिटि बनाएको छ । पुस १५ गते बसेको जिल्ला कमिटी बैठकमा १ सय १५ जनाको उपस्थिति रहेको एक दर्जन बढी जिल्ला कमिटि सदस्यहरु भौगोलिक कठिनाइ र समय अभावले उपस्थित हुन नसकेको जानकारी गराएको पार्टीका जिल्ला सचिव राउतले जानकारी दिनुभयो ।
जिल्ला कमिटीमा रहेका १ सय ५७ जनामध्ये ओली पक्षमा ३३ जना मात्र खुलेका छन् । उनीहरुमध्ये पनि केही जिल्ला सदस्य प्रचण्ड–नेपाल पक्षमा आउने देखिएको सचिव राउतले बताउनुभयो । नेकपाले जिल्लाका प्रत्येक गाउँपालिकामा ७५ र प्रत्येक नगरपालिकामा ८१ सदस्यीय कमिटि बनाएको छ । गाउँपालिका र नगरपालिकाका ८ अध्यक्ष र ८ सचिवमध्ये ओली पक्षमा तीन अध्यक्ष र एक सचिवसहित ४ जना मात्रै छन् ।
चौदण्डीगढी नगरपालिकाका अध्यक्ष राजेन्द्रप्रसाद कटुवाल, उदयपुरगढी गाउँपालिकाका अध्यक्ष गोपाल खत्री र लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष भलराज राई खुलेका छन् । यस्तै बेलका नगरपालिका सचिव गणेश बस्नेत ओली पक्षमा उभिएका छन् ।
बेलका नगर अध्यक्ष मनोज तामाङ, चौदण्डीगढी नगर सचिव गोविन्द श्रेष्ठ, उदयपुरगढी गाउँ सचिव भुवन केप्छाकी मगर, लिम्चुङबुङ गाउँ सचिव भनक विक प्रचण्ड– माधव समूहमा खुलेका छन् । त्रयुगा नगर कमिटी अध्यक्ष प्रकाशकुमार बस्नेत, सचिव गीता खड्का, कटारी नगरपालिका अध्यक्ष मणिराज दाहाल, सचिव मोहन खड्का, ताप्ली गाउँ कमिटी अध्यक्ष ढुंगराज विक र सचिव टोपबहादुर ठकुरी पनि प्रचण्ड–नेपाल समूहमा खुलेका छन् ।
जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सुरेशकुमार राई प्रचण्ड–नेपाल समूहमा छन् भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने नारायण बुर्जा मगर र सुनिताकुमारी चौधरी पनि सोहि समूहमा छन् । प्रदेशसभा सदस्य अम्बिका थापा र विमल कार्की ओली समूहमा खुलेका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी प्रदेशसभा सदस्य कला घले भने पछिल्लो समयमा ओली समूहमा गएकी छन् ।