विराटनगर । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले केपी ओलीको हिटलर प्रवृतिलाई छिमेकी मित्रराष्ट्रहरुले समर्थन गर्न नहुने बताउनुभएको छ ।
प्रतिनिधिसभा विघटन विरुद्ध विराटनगरमा शनिबार पार्टीले आयोजना गरेको विरोध सभामा बोल्दै भट्टराईले छिमेकमा आगो लाग्दा रमिते नबन्न भारत र चिनलाई आग्रह गर्नुभयो ।
छिमेकी मुलकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोक्न खोजेको त होइन भन्ने प्रश्न गर्दै भट्टराईले प्रतिनिधिसभा विघटनअघि भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख र विघटनपछि चिनियाँ टोलीको नेपाल भ्रमणले शंका उत्पन्न भएको बताउनुभयो । ‘उत्तर र दक्षिणबाट आएकाहरु ओलीसँग चिया खाएर गफ गर्न मात्र आएका होलान् र भन्दै उहाँले शंका पैदा भएको उल्लेख गर्नुभयो ।
हिजो महेन्द्रहरुलाई ३० वर्ष बोकेर ज्ञानेन्द्रलाई पनि बोक्ने छिमेकीले केपी ओली जस्तो निरंकुश प्रवृति भएको मान्छेलाई पनि बोकेर नेपालमा अशान्ति ल्याउन सहयोग गर्न नहुने उहाँको भनाइ थियो ।
स्वतन्त्र न्यायालयमा प्रधानमन्त्री ओलीले हस्तक्षेप गरेको र सार्वजनिक रुपमा धम्की दिइरहेकोप्रति आपत्ती जनाउँदै भट्टराईले अदालतबाट संसद पुनर्स्थापना हुन्छ भनेर आश गर्न सकिने भएपनि भर गर्न नहुने बताउनुभयो । जनताको लामो संघर्षबाट प्राप्त उपलब्धी रक्षा र संविधानलाई सहि बाटोमा ल्याउन जनताको खबरदारी आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटनको कदमले संविधानलाई कोमामा पुर्याएको भन्दै भट्टराईले सरकार बन्ने सम्भावना हुँदाहुँदै गरिएको विघटनलाई खारेज गरेर अदालतले संविधान जोगाउनुपर्ने बताउनुभयो । अदालतले प्रधानमन्त्रीको कदम खारेज नगरे सभामुखले प्रतिनिधिसभा बैठक बोलाउनुपर्ने उहाँको भनाइ छ ।
योसँगै मुलुकलाई प्रतिगामी बाटोबाट फर्काउन जनसंघर्ष अत्यावश्यक रहेको र त्यसका लागि हामी सबै दलको सहकार्य रहेकोमा भट्टराईले जोड दिनुभयो । आफू पत्तासाफ हुने निर्वाचन ओलीले नगराउने ठोकुवा गर्दै उहाँले मुसालाई फसाउन राखेको चारोको रूपमा चुनावको मुद्दा अघि सारिएको दावी गर्नुभयो ।
‘आफ्नै दुई तिहाइ खेर फाल्ने ओलीले चुनाव गराउलान् भन्ने भ्रममा बस्न जरूरी छैन’, भट्टराईले भन्नुभयो, ‘यो मुसा वा बाघलाई खोरमा फसाउन फालेको चारो मात्रै हो।’ नयाँ संविधानले निश्चित गरेको आदिवासी, जनजाति र दलितको अधिकार खोस्दै ओली संघीयता र गणतन्त्र मास्ने अभियानमा रहेको उहाँको भनाइ छ ।