विराटनगर । कोरोना महामारीसँगै बन्द भएको हाटबजार खुलाउन स्थानीय व्यापारीहरुले माग गरेका छन् । हाटबजार खुलाउनु पर्ने मागसहित विराटनगरका हाटबजार व्यवसायीहरुले सोमबार विराटनगरमा प्रदर्शनसमेत गरे ।
कोरोना संक्रमणको त्रास बढेपछि पहिलो चरणको लकडाउनकै अवधिबाट बन्द भएको विराटनगरको साप्ताहिक हाट बजार खुलाउन माग राख्दै सोमबार विराटनगर महानगरपालिका अगाडि भेला भएर उनीहरुले विरोध प्रर्दशन गरे । कोराना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न गत चैतमा सरकारले लकडाउन सुरू गरेसँगै विराटनगरको आधा दर्जन ठाउँमा लाग्दै आएको साप्ताहिक हाटबजार बन्द छन् ।
अहिले जनजीवन सामान्य अवस्थामा आइसकेको कारणले विराटनगरमा लाग्दै आएको साप्ताहिक हाटबजार खुलाउन माग गरेको वर्षौदेखि तरकारीको ब्यापार गर्दै आएका विराटनगर १९ का लक्ष्मी साहले बताउनुभयो । ‘हाटबजारमा सब्जी बिक्री गरि परिवारको गुजरा चलाउँदै आएको थिएँ,’ उहाँले भन्नुभयो, ‘हाटबजारमा आएर व्यापार गर्न नसक्दा अहिले परिवार पाल्न मुस्किल भयो । महानगरपाकिाले व्यवस्थित गरेर भएपनि हाटबजार खोलिदिनुप¥यो ।’ लक्ष्मी जस्तै विराटनगरको साप्ताहिक हाटबजारमा व्यापार गरेर परिवार पाल्ने एक हजार भन्दा बढी रहेको विराटनगरमा चार दशकदेखि व्यापार गर्दै आएका लक्षमण साहले सुनाउनुभयो ।
‘विराटनगरको ६ स्थानमा ठूलो साप्ताहिक हाट बजार लाग्ने गरेको छ,’ चार दशकदेखि विराटनगरमा हटीया गएर व्यापार गर्दै आउनुभएका साहले भन्नुभयो, ‘यहाँको हटीयामा व्यापार गरेर परिवार पाल्ने हजारौं छन् । अहिले बजार नहँदा चौपट भयो । परिवार पाल्न गाह्रो छ ।’ परिवार पाल्न र छोराछोरीलाई पठनपाठन गराउन समस्या हुन थालेपछि सयौंको संख्यामा भेला भएका व्यापारीहरूले सोमबार विराटनगर महानगरपालिका र वडा कार्यालयहरुमा गएर साप्ताहिक हटियामा ब्यापार गर्न माग राख्दै ज्ञापन पत्र बुझाएको विराटनगरमा हटियामा ब्यापार गर्दै आएका मनिष कुमार महासेठले बताउनुभयो ।
‘अहिले हामीले हटिया लाग्न माग राखेर ज्ञापन पत्र बुझाएका छौं,’ उहाँले भन्नुभयो, ‘महानगरपालिकाले व्यवस्थित ठाउँ देखाइदिएर व्यापार गर्न दिनुप¥यो । हैन भने यसरी हामीलाई उठिबास लगाउनु भएन ।’ स्थानीय तहले साप्ताहिक हटियामा ब्यापार गर्ने बातवरण नबनाए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी उनीहरुले दिएका छन् ।
विराटनगरको सडकहरुमा परम्परागत रुपमा यस प्रकारको हाटबजार लाग्दै आएको छ । कोरोना महामारीका कारण बन्द भएका साप्ताहिक हाटबजार सञ्चालनमा महानगरले अनुमति नदिएका कारण आन्दोलनमा उत्रिएको व्यापारी महासेठले बताउनुभयो ।
विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले छलफलपछि यस विषयमा महानगरपालिकाले निर्णय गर्ने र अहिले जे अवस्था हो त्यसै अनुसार हाटबजार बन्द रहने बताउनुभयो । आन्दोलन गरिरहेकाहरुलाई महानगरपालिकाले छलफलमा बोलाएको र दुवै पक्ष बसेर उपयुक्त निकास निकाल्ने उहाँले जानकारी दिनुभयो ।