विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को साधारणसभा र निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । पुस ११ गतेका लागि तय भएको साधारणसभाले कार्यकारिणी समितिमा अध्यक्षसहित १३ जनालाई निर्वाचित गर्नेछ ।
व्यवसायिक क्षेत्रको हितमा सक्रिय प्रदेश १ को पहिलो कार्यकारिणी समितिले आफ्नो कार्यकाल सफलतापूर्वक पुरा गरेर दोश्रो कार्यकालका लागि निर्वाचनको तयारीमा जुटेको हो । साधारणसभा नजिक आउँदै गर्दा आकांक्षीहरु खुल्न थालेका छन् ।
जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुमा जस्तो धेरै आकांक्षीहरु नदेखिए पनि भित्रभित्रै निर्वाचनको तयारीमा उद्योगी व्यवसायीहरु जुटेका छन् । आगामी कार्यकालका लागि विराटनगरका उद्योगी तथा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे प्रदेश अध्यक्ष पदका लागि तयारीमा जुट्नुभएको छ । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले अध्यक्ष घिमिरेलाई सर्वसम्मत उमेद्वारको रुपमा अघि बढाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ मा २४५ सदस्यहरु छन् । जसमा एशोसिएट सदस्य १८०, वस्तुगत सदस्य १३ र १४ जिल्लाका जिल्ला नगर उद्योग वाणिज्य संघका ३६ गरेर जम्मा २४५ सदस्यले मतदान गरी नयाँ कार्यकारिणी समिति निर्वाचित गर्नेछन् । निर्वाचनबाट एक जना अध्यक्ष, दुई जना उपाध्यक्षहरु (जिल्लानगर र एशोसिएट), एक जना कोषाध्यक्ष, जिल्ला नगरका तर्फबाट ५ जना सदस्य, वस्तुगतबाट २ जना सदस्य र एशोसिएटबाट २ जना सदस्य गरी १३ जना निर्वाचित हुने विधानको व्यवस्था छ ।
अध्यक्ष पदका लागि तयारी गर्नुभएका घिमिरेले छलफल जारी रहेको र सकेसम्म निर्विरोध निर्वाचित गर्नुपर्छ भनेर सबैले पहल गरिरहेको बताउनुभएको छ । अहिलेसम्म कसैले प्यानल बनाएको जानकारी पनि आएको छैन । अध्यक्ष पदका लागि झापाका टीका ढकालले पनि आन्तरिक तयारी बढाउनु भएको छ । ढकालले पनि प्यानल भने बनाइसक्नुभएको छैन । पदाधिकारी र अन्य सदस्यहरुमा पनि खुलेर कसैले आकांक्षा प्रकट गरेका छैनन् । सकेसम्म समझदारीमा सर्वसम्मत निर्वाचित हुने अवस्था बनाउन उद्योगी व्यवसायीहरुले मिहेनत गरिरहेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको विधानमा केन्द्रमा झैं वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेगरीको व्यवस्था छैन । प्रदेशको अध्यक्ष हुन कुनै शाखाको अध्यक्ष भएको हुनैपर्ने विधानमा व्यवस्था छ । जसका कारण अध्यक्षका लागि करिव सर्वसम्मत उमेद्वारको रुपमा रहनुभएका उद्योगी राजेन्द्र राउत प्रतिष्पर्धामा रहनुभएन ।