मिटरब्याजी मन्टु विरुद्ध सम्पत्ती शुद्धिकरणमा उजुरी

सर्वसाधरणबाट ५० करोड असुली

विराटनगर । मिटरब्याजी विराटनगर–९ घोघापुलचौकका मन्टु भनिने ४५ वर्षीय सञ्जयप्रसाद रौनियार विरूद्ध पीडितहरूले सम्पती शुद्धिकरण अनुसन्धान विभागमा उजुरी दर्ता गराएका छन् ।
उनीहरूले विभागमा दर्ता गराएको उजुरी अनुसार मन्टुले सर्वसाधरणबाट ५० करोडभन्दा माथि असुली गरेको खुलाएका हुन् ।

१० वर्षदेखि गैरकानूनी मानिएको मिटरब्याजमा गाउँका सोझासिधा सर्वसाधरणलाई ऋणी बनाएर ठगी गर्दै आएका मन्टु र उनको श्रीमतिको नाममा ६० कित्ता जग्गा पनि रहेको देखिएको छ । हालसम्म सर्वसाधारणको ४० कित्ता जग्गा सञ्जयप्रसाद रौनियार र उनकी श्रीमती ज्योति रौनियारको नाममा २० कित्ता जग्गा राजीनामा पास गराइसकेको खुलेको छ ।

गैरकानुनी ढंगले अकुत सम्पती आर्जन गरेको र मिटरब्याजमा लगानी गरि मोरङका ग्रामिण क्षेत्रका सर्वसाधरणलाई ‘टाट’ पल्टाएपछि ३ जनाले २०७७ मंसिर ७ गते रौनियार विरूद्ध सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागमा उजुरी दर्ता गराएको खुलेको छ । विभागमा दर्ता भएको २१३१ नम्बरको उजुरीअनुसार २०७० सालयता रौनियारले अदालतमा सर्वसाधारणविरुद्ध तीन सयवटा लेनदेन मुद्दा दायर गरेको उल्लेख छ ।

मिटर ब्याजबापत करिब ५० करोड रुपैयाँ रौनियारले आर्जन गरेको पनि उजुरीमा उल्लेख छ । यस्तै, उजुरीअनुसार उनले विराटनगरका विभिन्न व्यापारीलाई हालसम्म करिब ५० करोड रुपैयाँ लगानी गरेका छन् । अवैध आर्जनबापतको रकम भारत साहिरागन्ज, टावरचोक, मुजफ्फरपुरस्थित ससुरालीमा पु¥याएर लुकाएको पनि उजुरीमा उल्लेख छ ।

रौनियारको घरमा गैरकानूनी ढंगले आर्जन गरेको १० केजीभन्दा बढी सुन तथा ५० केजीभन्दा धेरै चाँदी रहेको तथा विभिन्न कम्पनीमा करडौं रुपैयाँ बराबरको शेयर रकम रहेको सम्पत्ती शुद्धिकरण विभागमा दर्ता गरेको उजुरीपत्रमा उल्लेख छ । उजुरी दर्ता भएपछि विभागले अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिनेछ । प्रहरीले अनुसन्धान पूरा गरेपछि अनुसन्धान प्रतिवेदन विभागमा बुझाएपछि मुद्दा दायर हुन्छ ।

सम्पत्ती शुद्धिकरण विभागमा मोरङ धनपालथान गाउँपालिका १ का ३१ वर्षीय मञ्जर हुुसेन, सोही गाउँपालिका २८ वर्षीय नुरूल मियाँ र सुनवर्षी नगरपालिका ४ का २८ वर्षीय अमितकुमार यादवले उजुरी दर्ता गराएका हुन् । उनीहरूले विभागमा उजुरी दर्ता गरेपछि मोरङ प्रहरीमा जाहेरी दिएका थिए । मन्टुसँग ऋण लिएर साँवाभन्दा बढी पैसा तिरसक्दा पनि धितो फिर्ता नगरेको भन्दै उजुरी परेपछि मोरङ प्रहरीले मंसिर २९ गते उनलाई घरबाटै पक्राउ गरेको थियो ।

प्रहरीले मिटरब्याजी मन्टुलाई पक्राउ गरेपछि मोरङ प्रहरीमा उजुरी दिनेको संख्या पनि बढेको छ । मिटरब्याजमा लगानी गर्ने मन्टुले २ लाख रूपैयाँ ऋण दिएर ३६ लाख रूपैयाँसम्म असुली गर्ने गरेको पाइएको छ । मन्टुलाई प्रहरीले म्याद थप गरि अनुसन्धान गर्दै आएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।

मिटरब्याजी मन्टुबाट सय बढी सर्वसाधारण पीडित रहेको मन्जिर हुसेनले बताएका छन् । मन्टुसँग मोरङको धनपालथान, जहदा, रंगेली, सुनवर्षी विराटनगरका विभिन्न गाउँका वासिन्दाले वैदेशिक रोजगारीको, घरायसी समस्या वा छोरा–छोरीलाई पढाउन पैसा आवश्यक पर्दा ऋण लिने गर्थे । तर, मन्टुले गलत तरिकाले ती स्थानीवासीलाई ठगी गर्न थालेको उनीहरू बताउँछन् ।

मन्टुले मिटरब्याजमा ऋण दिएपछि गाउँ–गाउँमा एजेन्ट परिचालन गर्ने गरेको पीडितहरूले बताएका छन् । पीडितका अनुसार मिटरब्याजमा लगानी गरेको पैसा उठान एजेन्ट गाउँमा खटाउने गरेको थिए ।

मङ्गलबार, ०७ पुष, २०७७, बिहानको ११:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर