घरेलु तथा साना उद्योग राष्ट्रको मेरुदण्डः मन्त्री कुसियैत

विराटनगर । प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियतले घरेलु तथा साना उद्योग राष्ट्रको मेरुदण्ड भएको बताउनु भएको छ ।

प्रदेश सरकारले त्यसखालका उद्यमीहरुको समस्या सम्बोधन गर्न उद्योग ऐन ल्याइसकेको र नियमावली बनसकेपछि काुनुनी समस्याको अन्त्य हुने पनि बताउनु भयो । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको ११ औं जिल्ला अधिवेशन तथा महिला उद्यम समितिको १९ औं जिल्ला भेलाको उद्घाटन कार्यक्रममा मन्त्री कुसियैतले यस्तो बताउनु भएको हो ।

उहाँले कोरोनाका कारण उद्योग क्षेत्र निकै प्रभावित भएको बताउँदै प्रदेश सरकारले वातावरण सहज बनाउने प्रयत्न गर्दै आएको बताउनु भयो । कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यबाहक अध्यक्ष उमेश प्रसाद सिंहले कोरोना महामारिका कारण थलिएका उद्योग कलकारखाना प्रति सरकार संवेदनशिल बन्नुपर्ने बताउनु भयो । उहाँले महासंघको दिएको २४ वटा सुझावमध्ये सरकारले मौद्रिक नीतिमा २० वटा सुझाव समेटेको बताउनु भयो ।

कार्यक्रममा संविधानसभा सदस्य तथा नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेल, महासंघका केन्द्रीय उपाध्यक्ष मुकेश उपाध्याय, महिला उद्यम समितिका केन्द्रीय अध्यक्ष अञ्जु उपाध्याय, पूर्व अध्यक्ष लता प्याकुरेल, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, विराट व्यापार संघका अध्यक्ष सुजन थापा, मोरङ व्यापार संघका महासचिव अनिल साहलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

यसैबिच उद्घाटन सत्र सम्पन्न भएपछि अधिवेनको बन्द सत्र सुरु भएको छ । बन्द सत्रले आगामी कार्यकालका लागि नयाँ नेतृत्वय चयन गर्ने उपाध्यक्ष चेतन निरौलाले जानकारी दिनुभयो । तीन÷तीन वर्षमा हुँदै आएको अधिवेशन यसपटक विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमका कारण करिब ८ महिना ढिलो गरि भएको हो ।

अधिवेशनमा मोरङ जिल्लाभरिबाट एक सय जना बढी प्रतिनिधिहरुको सहभागिता रहेको जनाइएको छ । अधिवेशनले महासंघको कार्यसमितिका लागि २२ जना र महिला उद्यम समितिका लागी १७ जनाको कार्यसमिति चयन गर्ने छ ।

अधिवेशनमा जिल्ला भरिका लघु तथा घरेलु महिला उद्यमीले उत्पादन गरेका अर्गानिक चिया, मह, ताजा तरकारी तथा फलफुल, च्याउ, किवी, लत्ताकपडा, ढाकाका उत्पादन, जुत्ताचप्पल लगायत घरेलु तथा सना उद्योगका उत्पादनहरुको प्रर्दशनीसमेत गरिएको छ । कोरोना संक्रमणको जोखिमका कारण अनिवार्यरुपमा मास्क स्यानीटाइजरको प्रयोग गर्दै आवश्यक स्वास्थ्य मापदण्ड अनुसार कार्यक्रम जारी रहेको निवर्तमान महासचिव गोपाल काफ्लेले जानकारी दिनुभयो ।

यसैबीच सोही समारोहकाबीच प्रदेश १ लाई कार्यक्षेत्र बनाएर लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार किशोर विश्वकर्मालाई सम्मान गरिएको छ । पत्रकार विश्वकर्मालाई नगद पाँचहजार रुपैयाँसहित सम्मान गरिएको हो ।

करिब डेढ दशकदेखि प्रदेश १ को राजधानी विराटनगरमा बसेर सक्रिय रुपमा निरन्तर कलम चलाउँदै आएका पत्रकार विश्वकर्मालाई प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिस कुसियतले नगदसहित सम्मानपत्रले सम्मान गर्नुभयो । अधिवेशनका अवसरमा निवर्तमान अध्यक्ष र पूर्व अध्यक्षहरु, महिला उद्यम समितिका पूर्व अध्यक्षहरु लगायत एकदर्जन बढी व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको थियो ।

सोमबार, २९ मंसिर, २०७७, साँझको ०७:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर