ग्रामथानमा जेष्ठनागरिक ग्रामको शिलान्यास

विराटनगर । प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्रामको आज शिलान्यास गरेको छ । जेष्ठ नागरिक ग्रामको सामाजिक विकास मन्त्री जीवन घिमिरेले शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रममा पुर्व मिस नेपाल तथा जेष्ठ नागरिक ग्रामकी डिजाईनर शृङ्खला खतिवडा, सामाजिक अभियान्ता रमेश प्रसाई, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी लगायतको उपस्थिति थियो ।

सामाजिक विकास मन्त्रालयले यसअघि गुरुयोजनाबारे सरोकारवालासँग छलफल र जेष्ठनागरिक ग्रामबारे जनप्रतिनिधि, स्थानीयवासीसँग छलफल गरिसकेको छ । छलफलमा आएका सुझाव सहित समेटेर गुरु योजनालाई अन्तिम रुप दिईएको शृङ्खला खतिवडाले बताउनुभयो । सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा जेष्ठ नागरिक र मानव सेवा ग्राम निर्माण गर्न लागिएको हो ।

१० विगाहा १४ कठ्ठामा ७२ वटा घरहरु निर्माण गरिने योजना बनाइएको छ । सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि ३ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

भवन निर्माणको शिलान्यास पछि जेष्ठनागरिक ग्राम निर्माणले गतिलिने सामाजिक विकास मन्त्री घिमिरेले बताउनुभयो । उहाँले परियोजना सम्पन्न भएपछि अहिले सञ्चालनमा रहेका आश्रमहरु भन्दा जेष्ठनागरिक ग्राम स्तरिय बन्ने बताउनुभयो । जेष्ठनागरिक ग्राम बेसहराहरुका लागि भन्दा पनि सम्मानजनक रुपमा बस्न सकिन्छ भन्ने अवधारणाबाट शुरु गरिएको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले जेष्ठनागरिक ग्राममा चिल्ड्रेन पार्क पनि निर्माण गरिने बताउनुभयो । चिल्ड्रेन पार्कलाई नलेज पार्कका रुपमा विकास गरिने उहाँको भनाइ छ ।

सोमबार, २९ मंसिर, २०७७, साँझको ०७:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर