हुलाकी सडक निर्माणको गति अझै बढेन

झापा, मोरङ र सुनसरी र सप्तरी जिल्लामा हुलाकी राजमार्ग निर्माणको प्रगति अवस्था निराशाजनक

विराटगनर । तराईका जिल्लाहरू जोड्ने महत्वपूर्ण मानिएकोे हुलाकी राजमार्ग निर्माण सुरु भएको १६ वर्ष बितिसक्दा पनि अझै कामले गति लिनसकेको छैन ।

राष्ट्रिय गौरवको आयोजनामा सुचीकृत भएको राजमार्गको निमार्ण कार्यले २०६२/०६३ पछि केही गति लिएको भएपनि यथोचित गति नलिदाँ उक्त सडकखण्डको धेरै ठाउँहरु अझै दुरावस्थामै छन् । हुलाकी राजमार्ग निर्माणका लागि हालसम्म सडकमा माटो भर्ने काम मात्र भएको छ । झापा, मोरङ र सुनसरी र सप्तरी जिल्लामा हुलाकी राजमार्ग निर्माणको प्रगति अवस्था निराशाजनक छ ।

सप्तरीदेखि झापासम्म २ सय २५ किलोमिटर लम्बाईको उक्त राजमार्गका धेरै स्थानमा कालोपत्रेको काम भएको छ । तर, कतिपय ठाउँमा राजमार्गको ट्रयाकट नै पहिचान गर्न नसकिने अवस्थामा छ ।

अहिले पनि धरै स्थानमा पुल निर्माणको काम अधुरै अवस्थामा छाडिएको छ । सप्तरी सदरमुकाम राजविराजदेखि प्रदेशको राजधानी विराटनगर हुँदै झापा जिल्ला र सदरमुकाम भद्रपुरसम्म चारपाग्रे सवारीसाधन चलाउनसक्ने अवस्था छैन ।

सरकारले यस वर्षपनि सप्तरी र झापा जिल्लामा मात्र हुलाकी सडकको काम अघि बढाएको थियो । सप्तरीमा पुल निर्माणको काम मात्र भइरहेको छ भने झापामा पुलसँगै उत्तर–दक्षिण जोड्ने सहायक सडक कालोपत्रे गर्ने काम भइरहेको छ ।

हुलाकी राजमार्ग योजना कार्यालय ईटहरीले प्रदेश नं. १ खण्डमा पर्ने हुलाकी राजमार्ग निर्माणको कामले गति लिँदा भौतिक प्रगति बढेको दाबी गदै आएको छ । कार्यालयका अनुसार पूर्वका ४ जिल्लामा सडक स्तरोन्नतिको काम ३५ प्रतिशत सकिएको छ । चालू आर्थिक वर्षको प्रगति ५५ प्रतिशत छ । २०७७ सालभित्र सम्पन्न गर्ने लक्ष्य लिईएको सडक निर्माणको कार्य मुआब्जा विवाद तथा साइड क्लियरिङ लगायतका कारणले ढिलाई भएको कार्यालयका अधिकारीहरू बताउँछन् ।

झापा, मोरङ, सुनसरी र सप्तरी हेरिरहेको इटहरीस्थित कार्यालयका अनुसार वित्तीय प्रगति भने ४७ प्रतिशत छ । ६४ सालमा पुलको काम गरेको भएपनि सडक निर्माणको प्रकृया २०७३ सालमा मात्र सुरु भएको इन्जिनियर आशुतोष कर्णले जानकारी दिनुभयो । सडक निर्माणका लागि मुआब्जा लगायतका विषयमा बिलम्व हुँदा भौतिक प्रगति कम देखिएको उहाँको भनाई छ ।

‘कार्यालयले हुलाकी राजमार्ग र उत्तर–दक्षिण लिङ्करोड समेत गरी २ सय ९५ किलोमिटर सडकको काम हेरिरहेको छ’, उहाँले भन्नुभयो, ‘अहिले सडकको १८ र पुलको २७ गरी ४५ वटा ठेक्कामा काम धमाधम भइरहेको छ ।’

भारतीय पक्षले जिम्मा लिएको २ वटा सडकमा ८० किलोमिटर कालोपत्रे भइसकेको छ । बाँकी सडकको चौडाइ बढाउने र स्तरोन्नतिको काम भइरहेको बताइएको छ । कार्यालयका अनुसार हुलाकी राजमार्गको अबको तीन वर्षभित्र सम्पन्न हुनेछ । चालु आर्थिक वर्षभित्र २७ वटा पुलमध्ये १८ वटा निर्माण सम्पन्न भइसक्ने बताइएको छ ।

तराईको भित्री क्षेत्रको विकास गर्ने सडकखण्डको रूपमा लिइएपनि सरकारले कार्यसम्पादनमा ध्यान नदिएको झापा गौरीगञ्जका स्थानीय रघुराम सतारले बताउनुभयो । आफु १५ बर्षको उमेरको हुँदा सुरुभएको राजमार्गको काम ३५ वर्षको भइसक्दा पनि नसकिएको सतारको गुनासो छ ।

निर्माणमा केही प्रगति हुने बाहेक समग्रमा अहिलेको पनि अवस्था उस्तै छ । गौरीगञ्जबाट विराटनगर जान अहिलेपनि हुलाकी राजमार्ग भएर पुग्नसक्ने अवस्था छैन । कतिपय स्थानमा पुलको समस्या छ, त कतिपय स्थानमा ट्रयाक नै नभेटिने अवस्था रहेको उहाँको भनाई छ ।

स्थानीय रामविलास सतारका अनुसार झापा र मोरङ जिल्लाको सिमाना भएर बग्ने रतुवा नदीले गतवर्ष हुलाकी राजमार्ग अन्तर्गतको मोरङ खण्डको पुल छेउको जमिन कटान गरेको थियो । जुन अहिलेसम्म मर्मत नहुँदा पुलबाट नदी तर्ने अवस्था छैन ।

हुलाकी राजमार्ग, पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको झापा र मोरङ जिल्लामा ४८/४८ किलोमिटर, सुनसरीमा ३० किलोमिटर र सप्तरीमा ३२ किलोमिटर पर्छ । झापामा हुलाकी राजमार्गलाई जोड्ने सहायक राजमार्ग चारआली–केचना ४० किलोमिटर, मोरङमा कानेपोखरी–रंगेली २५ किलोमिटर र सप्तरीमा कल्याणपुर–बसाइन हुँदै ब्रम्हपर्टी १८ किलोमिटर सहायक राजमार्ग छ ।

हुलाकी राजमार्ग आयोजना इटहरीका अनुसार सप्तरी, सुनसरी, मोरङ र झापा जिल्ला जोड्ने सडक निर्माणको काम भइरहेको छ । राजमार्ग अन्तर्गत सप्तरीमा अहिले २ करोड रुपैयाँदेखि माथिका सानाठूला गरी १५ वटा पुलको निर्माण भइरहेको छ । त्यसैगरी झापा जिल्लामा ३३ करोड रुपैयाँको लागतमा मेची नदीमा पुलसहित १२ वटा पुल निर्माणका चरणमा छन् । सोही जिल्लामा चारआली–केचना ४० किलोमिटर सहायक सडकमा कालोपत्रेको काम भइरहेको जनाईएको छ ।

यस बाहेक हुलाकी राजमार्गमा अन्य प्रगति योग्य काम हुन नसकेको स्थानीयले बताएका छन् । आयोजनाका इन्जिनियर आशुतोष कर्णका अनुसार सडकदेखि पुल निर्माणमा प्रत्येक वर्ष बजेट अपुग हुने गरेको छ । थप बजेट निकासाका लागि ताकेता गर्दापनि नआएको र ठेकेदार कम्पनीलाई भुक्तानी दिन समस्या भएको उहाँले बताउनुभयो ।

शुक्रबार, २६ मंसिर, २०७७, बिहानको १०:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर