विराटनगर । विराटनगर–९ कलेज रोडस्थित विराट गोल्छा घ्यू प्याकेजिङले उत्पादन गरेको पूजा घ्यू गुणस्तरहीन पाईएको छ ।
खाद्य प्रविद्यि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको प्रयोगशालामा गरिएको परिक्षणमा घ्यू गुणस्तरहीन पाईएको हो । खाद्य प्रविद्यि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र उपभोक्तावादी संघ–संगठनले गत असोज ३० गते संयुक्त रुपमा बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा कार्यालयले खुल्ला र प्याकेजिङ भईसकेको घ्यूको नमुना सङ्कलन गरेको थियो ।
संकलित घ्यूको नमुना परीक्षण गर्दा मिसावट भएको पाईएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आज कार्यालय परिसरमै खाडल खनी करिब २०० लिटर घ्यू नष्ट गरेको छ । कार्यालयको टोलीले सोही स्थानमा ५०० ग्रामको ४६ वटा, १ केजीको १ वटा, ४०० ग्रामको ३८ वटा र २०० ग्रामको ११ वटा घ्यूको वट्टा बरामद गरि नष्ट गरेको हो ।
विराटनगर निवासी रमेश गोल्छाले २०६९ सालदेखि विराट गोल्छा घ्यू प्याकेजिङ उद्योग मार्फत घ्यू उत्पादन तथा बिक्री वितरण गर्दै आएका थिए । तर उत्पादित घ्यू मानव स्वास्थ्यका लागी हानीकारक र मापदण्ड विपरित पाईपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आईतबार जफत गरि नष्ट गरेको हो ।
कार्यालयले खाद्य ऐन २०२३ र नियमावली २७ बमोजिम सहमतिका लागी उद्योग सञ्चालक गोल्छा विरुद्ध अभियोग पत्र तयार पारेर जिल्ला सरकारी वकीलको कार्यालयमा पेश गरेको छ । त्यहाँबाट सहमति प्राप्त भएलगत्तै उनीविरुद्ध मुद्दाको प्रक्रिया अघि बढाइने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजालले जानकारी दिनुभयो । ‘न्यून गुणस्तर प्रमाणित भईसकेपछि यस्ता वस्तुहरु बजारमा जानुहुँदैन’, उहाँले भन्नुभयो, ‘सञ्चालकले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको अनुज्ञा पत्रको दूरुपयोग गरेको छ । यसको अनुमति कसैसँग छैन ।’
यता विराट गोल्छा घ्यू प्याकेजिङका सञ्चालक रमेश गोल्छाले आफुले खानका लागि नभई पूजामा प्रयोग गर्नका लागि घ्यू उत्पादन गर्दै आएको बताउनुभएको छ । उहाँले आवश्यक मापदण्ड पुर्याएर घ्यू उत्पादन गर्दै आएको जानकारी दिनुभयो । यद्यपि खाद्य प्रविधिले घ्यू जफत गरि नष्ट गरिदिँदा आफुलाई करिब १ लाख बढीको नोक्सानी व्यहोर्नुपरेको उहाँले जिकिर गर्नुभयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अब शुद्ध घ्यू मात्र उत्पादन गर्ने गरी सञ्चालकको लिखित निवेदनको आधारमा उद्योगको शिलबन्दी भने फुकुवा गरिदिएको छ ।