गोक्यो ताल जाँदा अब भीरबाट लडेर ज्यान गुमाउनुपर्दैन

विराटनगर । सोलुखुम्बु जिल्लामा रहेको विश्वको अदभुत मानिएको गोक्यो ताल जाँदा भीरबाट लडेर ज्यान गुमाउनुपर्ने अवस्था अन्त भएको छ ।

प्रदेश १ सरकारको ७० लाख र स्थानीय तहको २५ लाख लगानीमा लकडाउनको समयमा स्थानीयबासीले डरलाग्दा अक्करे भीरको घोडेटो बाटोमा फराकिलो सिँढीसहितको ५ सय मिटर पक्की बाटो निर्माण गरेका छन् ।

सोलुखुम्बुको उत्तरी क्षेत्रमा पर्ने ४७ सय मिटर उचाई क्षेत्रको खुम्बु पासाङल्हामु गाउँपालिका ४ मा रहेको गोक्यो हिमताल प्राकृतिक सौन्दर्यले गर्दा विश्वको अदभूत् ठाउँका रुपमा चर्चित छ । तर, सहज बाटो नहुँदा अदभुत् गोक्यो ताल जान खुम्बजुङदेखि एकदमै भिरालो घोडेटो बाटो हिँडनुपर्ने बाध्यता थियो ।

लकडाउनको समयमा स्थानीयबासी आफै जुटेर ९३ दिनमा ५ सय मिटर पक्की बाटो निर्माण गर्न सफल भएको वडाध्यक्ष लक्ष्मण अधिकारीले बताउनुभयो । निर्माण भएको बाटोमा भिरालो भीरमा १ सय ५० मिटर बारसहितको सिँढी पनि छ ।

वडाध्यक्ष अधिकारीका अनुसार अदभुत् प्राकृतिक सौन्दर्यले भरिएको गोक्यो हिमताल जाने बाटो भिरालो र जटिल हुँदा वर्षेनी धेरै पर्यटकहरु लडेर ज्यान गुमाउन बाध्य थिए । वडाध्यक्ष अधिकारीले भन्नुभयो ‘तर अब हामी स्थानीयहरु आफैले लकडाउनमा बाटो निर्माण गर्न सफल भएपछि पर्यटकले ज्यान गुमाउनुपर्ने अवस्था अन्त भएको छ ।’

विश्वकै आकर्षक पर्यटकीय गन्तब्य गोक्यो तालसम्म पुग्ने सहज बाटो निर्माण गर्न लकडाउनको समयमा दैनिक ३८ जना स्थानीयवासी ९३ दिनसम्म खटिएका थिए । लकडाउनको समयमा निर्माण कार्य गर्दा स्थानीयबासीलाई रोजगारी पनि प्राप्त भएको र काम पनि छिटो र भरपर्दो भएको जनप्रतिनिधिहरुको दाबी छ ।

अनुगमन गरेर फर्केका सोलुखुम्बुका प्रदेश सांसद तथा प्रदेशसभामा नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले लकडाउनमा खुम्बु पासाङ ल्यामु पालिकाबासीहरुले अग्रसर भएर गरेको काम उदाहरणीय मात्र नभएर अनुकरणीय पनि भएको बताउनुभयो । उहाँका अनुसार अदभुत् गोक्यो ताल सोलुखुम्बुको लुक्ला विमानस्थलदेखि तीन दिनको पैदल यात्रामा पुग्न सकिन्छ । यो तालमा घुमेर आनन्द लिन वर्षेनी सयौं विदेशी पर्यटकहरु जाने गरेका छन् ।

अक्करे भीरमा सहजबाटो निर्माण भएपछि अब विदेशीहरु मात्र हैन आन्तरिक पर्यटकहरुले पनि अनुकुल मौसममा सहजै गोक्यो तालसम्मको भ्रमण गर्न सक्नेछन् । आन्तरिक र भारतीय पर्यटकहरुलाई आकर्षित गर्न चाँडै विराटनगर–लुक्ला हवाई सेवा सञ्चालन गराउने तयारी भरहेको सांसद राजभण्डारीले बताउनुभयो ।

विश्वको ५० अदभुत्मध्येको गोक्यो ताल
गोक्यो ताल क्षेत्रमा ८० भन्दा बढी प्रजातिका फूल फुल्ने वनस्पति, हिउँचितुवा, कस्तुरी मृग, झारल जस्ता वन्यजन्तु पाइन्छन् । यसैले विदेशी पर्यटकहरु साहसी पर्यटनको आनन्द लिन गर्मी सिजनमा रमाउन त्यहाँ पुग्ने गर्दछन् ।

गोक्यो क्षेत्रलार्ई जैविक विविधताको ‘हट–स्पट’ समेत मानिन्छ । गोक्यो क्षेत्रमा ४ हजार ७ सयदेखि ५ हजार मिटरको उचाइमा रहेका ६ वटा ताल एकअर्कामा जोडिएका छन् । जसलाई ‘गोक्यो ताल संयन्त्र’ भनिन्छ । नेशनल जियोग्राफिकले छानेको विश्वका ५० अद्भूत ठाउँमध्ये गोक्यो ताल क्षेत्र पनि एक हो ।

उत्तरी पर्यटकीय क्षेत्रमा पर्ने गोक्यो ताल १ हजार मिटर लम्बाई, ८ सय ५५ मिटर चौडाई र ४३ मिटरको गहिराइको छ । तालमा आन्तरिक रुपले आँधी चल्ने गरेको स्थानीयहरुले बताउँदै आएका छन् ।

सोेलखुम्बुको नाम्चे बजारदेखि डेढ दिनको पैदल दुरीपछि बल्ल गोक्यो तालमा पुग्न सकिन्छ ।

सोमबार, ०३ कार्तिक, २०७७, बिहानको ०८:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर