दशगजालाई भारतीयले डम्पिङ साइट बनाए, खाना खाँदा नाक थुन्नुपर्ने बाध्यता

विराटनगर । ट्याक्टर र ट्रकमा ल्याएर भारतीयले नेपाल र भारतको सीमा क्षेत्र दशगजामा फोहर फाल्ने गरेको पाइएको छ । विराटनगर–१६ दक्षिण गेट नजिकमा भारतीयले दैनिक ट्याक्टर र ट्रकमा ल्याएर फोहार फाल्दा यहाँका स्थानीय दुर्गन्धले हैरान भएका छन् ।

सीमावर्ती बजार जोगवनीको बजारबाट निस्किएको फोहोर गाडीमा हालेर दशगजा क्षेत्रमा फाल्दा विराटनगर १६ को हुलास मेटल चौक र दक्षिण गेटका स्थानीय दुर्गन्धले हैरानी व्यहोर्नु परेको उनीहरूको गुनासो छ ।

जोगवनीको बजार क्षेत्र, सडक तथा नालाबाट निकालेको फोहर गाडीमा ल्याएर दशजगा क्षेत्रमा फाल्ने गरिएको विराटनगर १६ का महमद मुस्तार हुसेनले बताउनुभयो । फालिएको फोहोर सडेर दुर्गन्धमय बन्दा पनि महानगरपालिका र स्थानीय प्रशानसले त्यसलाई रोक्न पहल नगरेको उहाँको गुनासो छ ।

दशगजामा फोहरको डंगुर हुँदा स्थानीय दुर्गन्ध र त्यसले पार्ने असरले प्रभावित भएका छन् । फोहरसँगै भारतीयहरुले मरेको जीवजन्तुहरू पनि ल्याएर दशगजा क्षेत्रमा ल्याएर फाल्ने गरेका छन् । मरेको जीवजन्तु दशगजा क्षेत्रमा फाल्लेर सडेर दुर्गन्धित हुन थालेपछि स्थानीयले सास फेर्न गाह्रो भएको गुनासो गरेका छन् ।

‘फोहरको दुर्गन्धले हैजा फैलिनसक्ने खतरा बढेको छ’ स्थानीय हुसेनले भन्नुभयो । भारतीयलाई फोहर फाल्न रोक्न नेपाली प्रशासनले पनि कुनै पहलकदमी नगरेको उहाँको भनाइ छ । दशगजा क्षेत्रमा फोहर फाल्न रोक लगाइदिनुप¥यो भन्दै स्थानीयवासी भने भारतको नगर पञ्चायतसम्म पुगेका छन् । तर, अहिलेसम्म भारतीयले फोहर फाल्न नछाडेको स्थानीयको भनाइ छ ।

भारतीयले दशगजा क्षेत्रमा फालेको मरेको जीवजन्तुको सिनो पनि विराटनगर १६ का स्थानीयले उठाएर पुर्नुपर्ने बाध्यता छ । दुर्गन्धित भएर बसिनसक्नु भएपछि मरेर फालेको सिनो उठाएर पुगेको भन्दै हुसेनले दशगजा क्षेत्रमा फालिएको फोहरको दुर्गन्धले गर्दा नाक थुनेर खाना खानुपर्ने अवस्था बनेको छ ।

विराटनगर १६ को दक्षिण गेट साइटको दशगजा क्षेत्रमा भारतले करिब ५ सय मिटर क्षेत्रमा फोहर फाल्ने गरेका छन् । सो क्षेत्र अहिले जोगवनी बजारबासीको फोहर फाल्ने डम्पिङ साइडजस्तै बनेको छ । जोगवनी बजारको फोहर ट्याक्टर, ट्रक र ढेलामा ल्याएर दशगजा क्षेत्रमा दैनिक बिहान र साँझपख फाल्ने गरेको स्थानीय बताउँछन् । भारतीयले दशगजा क्षेत्रमा फोहर फाल्न थालेको तीन वर्ष भएको स्थानीय नारयण साहले बताउनुभयो ।

विराटनगर महानगरपालिकालाई दशजगा क्षेत्रमा भारतीय फोहर फाल्न नदिन पहल गरिदिन पटक–पटक आग्रह गरेपनि सुनुवाई नभएको साहको गुनासो छ । जथाभावी फोहर फाल्दा र उचित व्यवस्थापन हुन नसक्दा विभिन्न रोग फैलनसक्ने चिन्तामा स्थानीय छन् । फोहरकै कारणले झाडपापखला, हैजा, जन्डिस, मलेरिया, डाइफाइटलगायतका विभिन्न प्रकारका रोगहरू लाग्नसक्ने खतरा छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले दशगजा क्षेत्रमा फोहरजन्य कुनैपनि वस्तु फाल्न र राख्न नपाइने बताउनुभयो । ‘नेपाल भारतको सिमा क्षेत्र दशगजा क्षेत्रमा फोहर फालिएको भेटिए भारतसँग पहल गरेर हटाउन लागाउँछौं’ उहाँले भन्नुभयो । विराटनगर १६ का वडाअध्यक्ष मनोज सुब्बाले भारतीय पक्षलाई बारम्बार फोहर दशगजा क्षेत्रमा नफाल्न भनेको बताउँदै यसबारे महानगरपालिको प्रमुखसहित भारतीय पक्षसँग कुराकानी गरेको बताउनुभयो । फोहर फाल्न नदिन थप पहल गर्ने उहाँको भनाइ छ ।

बिहिबार, २२ असोज, २०७७, बिहानको ०८:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर