‘बलि’ दिन लगिएकी युवतीको उद्धार

विराटनगर । पुजाको लागि भन्दै सुनसरी हुँदै भारत लगिएका सप्तरीका दुई युवतीलाई उद्धार गर्दै प्रहरीले दुई अभियुक्तलाई पक्राउ गरेको छ ।

सप्तरीको दौलतपुर गाउँपालिका ३ की युवती र सम्भुनाथ नगरपालिका ८ कि २२ वर्षीया युवतीलाई सशस्त्र प्रहरीको टोलीले सुनसरीको कोशी गाउँपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रबाट बुधबार उद्धार गरेको हो।

ठूलो रकमको डिल र पूजाको विवरण विश्लेषण गर्दा ‘बलि’ दिन लगिएको हुनसक्ने प्रहरीको अनुमान छ । युवतीलाई नियन्त्रणमा लिए पश्चात तस्करको समूहले केटीको उचाई नापेको भिडियोसमेत बरामत गरेको छ । प्रहरीले चारै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाएको छ ।

युवतीलाई भारत लाने दुई पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । युवतीलाई फकाएर भारत लाँदै गरेको अवस्थामा भाण्टावारी नाकाबाट सशस्त्र प्रहरीले उद्धार गरेको हो । नेपाल–भारत सीमा नाका बन्द रहेको अवस्थामा तस्करले युवतीलाई भारत लैजान खोजेका थिए ।

भारतीय प्रहरीको सहयोगमा सशस्त्र प्रहरीको बीओपी भाण्टावारीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक भुवन खड्काको नेतृत्वको टोलीले युवतीको उद्धार गरेको हो । प्रहरीले युवतीलाई लैजाने सप्तरीको अग्नीसाइबर कृष्णसवरण गाउँपालिका ४ का २९ वर्षीय साहिल मन्सुरी र सिराहाको लहान नगरपालिका १९ का ३२ वर्षीय जिवछ साहलाई पक्राउ गरेको हो ।

भारतको विरपुर राज्यको भिमनगर मन्दिरमा पुजा गर्न जाने र त्यसवापत पुजारीले ३ रुपैयाँ दिने भन्दै फकाएर उनीहरुले युवतीलाई लगेको खुलेको छ । पूजा समाप्त हुनसाथ घर फिर्ता गरिदिने भनी प्रलोभनमा पारे उनलाई लगेका थिए ।

युवतीहरुलाई फकाएर सीमा क्षेत्र कटिसकेको अवस्थामा युवतीको उद्धार गरेको सशस्त्र प्रहरीका उपरीक्षक माधबप्रसाद पौडेलले जानकारी दिनुभयो । नेपालतर्फको भूभाग कटेर भारत प्रवेश गरेपश्चात भीमनगरमा रहेका भारतीय सुरक्षा बलका जवानलाई खबर गरेर उनीहरुकै सहयोगमा युवतीको उद्धार भएको हो । सशस्त्र प्रहरी उपरीक्षक पौडेलले ठूलो रकमको ‘डिल’ भएर युवतीलाई भारत पु¥याउन खोजिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउनुभयो ।

केही दिनअघि सुनसरीको रामधुनी नगरपालिका–५ की १७ वर्षीया किशोरीलाई विराटनगर महानगरपालिका–१७ इश्लामपुरको बाटो हुँदै भारत लगिएकोमा उनी भागेर नेपाल आएकी थिइन् । सो घटनामा पनि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ती युवतीलाई पनि बलि दिन लगेको आशंका छ ।

बिहिबार, १५ असोज, २०७७, दिउँसोको १२:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर