उदयपुर । उदयपुरको कटारी नगरपालिका ११ का दुबै मिर्गौलामा समस्या भएका राजु खड्कालाई बचाउनको लागि परिवारजनले सहयोगको याचना गरेका छन् ।
खड्काको मिर्गौला प्रत्यारोपण तथा डायलासिस गर्न आर्थिक अभाव भएपछि सहयोगको याचना गर्नुपरेको पीडितकी श्रीमती सविना खड्काले बताउनुभयो ।
वृद्ध बुबाआमा, श्रीमती र एक नाबालिका छोरीको भरणपोषण गर्नुपर्ने २४ वर्षीय खड्का आफैँ बिरामी परेपछि उपचारमै समस्या परेको छ । सामान्य खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएको खड्का परिवारको आर्थिक अवस्था नाजुक छ । खानलाउन नै समस्या भैरहेको परिवारले उनको उपचार धान्ने अवस्था छैन ।
श्रीमति सविनाले उपचार खर्च जुटाइदिएर श्रीमान बचाइदिन परोपकारीहरूलाई अनुरोध गर्नुभएको छ । २०७४ साल मंसिर १ गते गोरखा घर भएकी सविनासँग राजुको विवाह भएको थियो । विवाह भएको एक वर्षपछि बैदेशिक रोजगारीको लागी कतार गएका राजुले यूबीसी कम्पनीमा सेक्युरिटी गार्डको रुपमा काम गर्ने क्रममा ड्युटीमै रहेका बेला एक्कासी बेहोस भएर ढलेपछि अस्पताल लगेर परीक्षण गर्दा मिर्गौलामा समस्या देखिएको थियो ।
त्ययसपछि नेपाल आइसकेपछि उनले परिवारका सदस्यलाई खबर गरी वीर अस्पतालमा दुई दिन भर्ना भएर उपचार गराएका थिए । एक वर्षदेखि उनले कहिले काठमाडौंको शिक्षण अस्पताल, वीर अस्पताल र विपी प्रतिष्ठान धरानमा उपचार गराइरहेका छन् । अहिले विपी प्रतिष्ठान धरानमा खड्काको उपचार भइरहेको छ ।
विपीमा डायलासिस मात्र हुने भएकाले पैसा जम्मा भए काठमाडौं लगेर मृगौला प्रत्यारोपण गरी आफ्नो श्रीमानलाई बचाउन सकिने श्रीमती सविनाको आशा छ । नाता, इष्टमित्र तथा आफन्तकै भरमा अस्पताल लगेर उपचार गरिरहेको दाजु प्रविण खड्काले बताउनुभयो । अस्पतालले मृगौला प्रत्यारोपणका लागि ८–९ लाख रुपैयाँ जम्मा गर्न भनेको परिवारले जनाएको छ ।
खड्काको उपचारमा सहयोग गर्न मुक्तिनाथ विकास बैंक कटारी शाखामा दाजु प्रवीण खडकाको नाममा खोलिएको खाता नम्बर ०४६२०१००५८२५४५०००००१ मा रकम जम्मा गरिदिन परिवारले आग्रह गरेको छ ।