प्रहरीले बृद्धाको हत्याराको सुराक अझै भेटेन

दमक । आफ्नै घरमा विभत्स हत्या गरिएकी झापाको गौरादह नगरपालिका–१ की पार्वता भण्डारीको बुधबार अन्तिम संस्कार गरिएको छ । भण्डारीको घरकै खाडमुनी हात बाँधेर हत्या गरेको अवस्थामा शव भेटिएकोमा प्रहरीले हत्याको सुराक फेला पार्न सकेको छैन ।

घटनाको अवस्था र प्रकृति अनुसार व्यक्तिले मात्र सहज रूपमा अनुसन्धान हुने अवस्था नदेखेपछि प्रहरीले संघीय प्रहरी इकाई धरानको सहयोग लिएर तालिमप्राप्त कुकुर मगाएको थियो । तर, त्यसबाट पनि कुनै सुरा फेला परेको छैन । तालिमप्राप्त कुकुर लैला घरदेखि पूर्व हुँदै सिस्ने खोलासम्म पुगेर अलमलिएको थियो ।

टोलीले घटना भएको भोलिपल्ट मंगलबार केही छिमेकीसहित २ जना आफन्तलाई सोधपुछ गरेर छाडेको छ । प्रहरीले बाहिरी छिमेकीसँगको सोधपुछपछि अब घरभित्रैका आफन्तसँग सोधपुछ गर्ने जनाएको छ ।

झापाकै कमल गाउँपालिका ढ्यांग्रीमा बस्दै आएकी बृद्धा भण्डारी श्रीमानसँग सोमबार नै गौरादह पुगेकी थिइन् । घरमा श्रीमतिलाई छाडेर बजार निस्किएका उनका श्रीमान भीम भण्डारी साँझ घर फर्कदा श्रीमतिलाई मृत फेला पारेका थिए ।

मृतकका भतिजा देवु भण्डारीले आफूहरूलाई केही व्यक्तिप्रति शंका लागेको बताउनुभएको छ । पहिलादेखि नै जग्गाको विषयमा केही व्यक्तिहरूले काकालाई धम्क्याइरहेकोले उनीहरुमध्येबाटै यो घटना भएको हुनसक्ने उनको भनाइ छ ।

घटनापछि स्थानीय त्रसित छन् । भण्डारीको घरैछेउका छिमेकी मनिष चम्लागाईंले घटनापछि प्रहरी अझै हत्यारासम्म नपुग्दा सबै स्थानीय त्रासमा रहेको बताउनुभयो । छिमेकीहरुले हत्यारा चाँडो पत्ता लगाउन प्रहरी प्रशासनसामु आग्रह गरेका छन् ।

बुधबार, १४ असोज, २०७७, साँझको ०६:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर