विद्यार्थी नेताको ‘पेस्तोल व्यापार’

विराटनगर । अवैध हतियारको कारोबारमा मुछिएका विद्यार्थी नेता विकास महतोले ३५ हजार रुपैयाँ मुनाफा राखेर विराटनगरमा संगठित अपराधको सञ्जाल विस्तार गरेको गिरोहलाई पेस्तोल र गोली बिक्री गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

भारतको फारबिजगञ्जमा ६५ हजार रुपैयाँमा अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोली खरिद गरेका महतोले विराटनगरका व्यापारीलाई ज्यान लिने धम्की दिदै रकम असुल्ने गिरोहका मुख्य नाइके अभिषेक रायको समूहलाई १ लाख रुपैयाँमा हतियार बिक्री गरेको थिए ।

विराटनगर १२ घर भएका २६ वर्षीय महतो अनेरास्ववियू मोरङ जिल्ला कमिटीका सचिवालय सदस्य तथा पुसेट क्याम्पस कमिटीका अध्यक्ष हुन् । नेपाल टेलिकमको टावर बनाउन ठेक्काको काम पनि गर्दै आएका महतो पक्राउ परेपछि उनको अपराधिक कर्तुत बाहिर आएको हो ।

प्रहरीका अनुसार महतोको ५ वर्ष अगाडि गिरोहका मुख्य नाइके अभिषेकसँग चिनजान भएको पाइएको छ । टावरको ठेक्कापट्टाको क्रममा अभिषेकसँग उनको चिनजान भएको थियो । ठेक्काबाट चाँडो आम्दानी नदेखिएपछि व्यापारीलाई धक्याएर रकम असुल्ने योजना अभियोकले सुनाएको र र त्यसको लागि पेस्तोल व्यवस्थापन मेहताले गरेको पाइएको छ ।

मेहताले एक लाख रुपैयाँ लिएको तीन दिनभित्रमा पेस्तोल हाता लगाइदिने बयान प्रहरीमा दिएका छन् । प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेख भए अनुसार रायको समूहले एक लाख दिएपछि पेस्तोल लिन मेहता फारबिन्ज पुगेका थिए । सामान्य चिनजान भएका भारतको अररिया जिल्ला फारबिसगंज बस्ने मनिष नामबाट चिनिने साथीलाई भेटर मेहताले पेस्तोल ल्याएको खुलेको छ ।

‘एक थान म्यागजिन पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोली उपलव्ध गराउन मेहताले भारतीय नागरिक मनिषलाई फारबिसगन्जमा भेटेर नेपाली ६५ हजार रुपैयाँ दिएका छन् । पैसा बुझाएपछि पेस्तोल र गोली अभिषेक रायलाई कटहरी चौकमा दिएर महतो घरतर्फ लागेका छन्,’ अभियोग पत्रमा उल्लेख छ ।

मेहतालाई दुई वटा मुद्दा
विराटनगरका व्यापारी धम्काउँदै रकम असुली गरेको गिरोहलाई पेस्तोल बिक्री गरेको आरोपमा पक्राउ परेका विद्यार्थी नेता मेहता विरुद्ध अदालतमा दुई वटा मुद्दा दर्ता भएको छ । मेहता विरूद्ध ‘हातहतियार तथा खरखजना’ र अपराधिक लाभ लिने उद्योग मुद्दा दर्ता भएको हो ।

हातहतियार तथा खरखजनामा मेहतासहित अन्य चार जनालाई प्रतिवादी बनाइएको छ । सो मुद्दामा २६ वर्षीय नन्दु भन्ने चन्दकिशोर साह, भारती सितामडी ग्राम पञ्चायत घर भइ विराटनगर ८ मा बस्दै आएका २७ वर्षीय राजु साह, कटहरी २ का २७ वर्षीय एलेक्स भन्ने रबिन शर्मा, सोही ठाउँका २६ वर्षीय अभिषेक रायलाई पनि प्रतिवादी बनाइएको छ ।

मेहता १७ भदौमा विराटनगर १२ स्थित घरबाट पक्राउ परेका थिए । घटनाका अन्य अभियुक्त १५ भदौमा पक्राउ परेका थिए ।

रकम असुल्ने अभिषेकको समहूलाई ५ वटा मुद्दा
व्यापारीलाई ज्यान मार्ने धम्की दिदै लाखौं रुपैयाँ असुली गर्ने गिरोहका मुख्य नाइके अभिषेक रायसहित ५ जना अभियुक्तहरू विरुद्ध भने चार वटा मुद्दा मोरङ अदालतमा दर्ता भएको छ । पक्राउ परेका प्रतिवादीहरूबाट छुट्टाछुट्टै घटनामा छुट्टाछुट्टै व्यक्तिहरू पीडित भएको प्रहरीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि उनीहरूलाई चार वटा अदालतमा मुद्दा दर्ता भएको हो ।

अदालतमा किसनकुमार साह, नन्दकिसोर साह, राजु साह (व्याहुँत), एलेक्स भन्ने रविन शर्मा र अभिषेक राय विरुद्ध ४ वटा मुद्दा दायर भएको हो । उनीहरू विरुद्ध डाँका, अपराधिक लाभ लिएको, अपराधिक लाभ लिन खोजेको र हातहतियार तथा खरखजना मुद्दा दर्ता भएको मोरङ अदालतका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार गिरोहका नाइके अभिषेकले व्यापारीबाट ५ लाख रुपैयाँ असुलेपछि महतोलाई पेस्तोलको पैसा बुझाएका थिए । अभिषेक यसअघि पनि ज्यान मार्ने उद्योगमा पक्राउ परेर कैद भुक्तान गरी छुटेका व्यक्ति हुन् । उनको समूहले असार २६ गते विराटनगरस्थित खाद्यान्न एवं गुट्खा डिलरका एक व्यापारीलाई ज्यान मार्ने धम्की दिएर २ पटकमा ५ लाख रुपैयाँ असुलेको थियो ।

घटनापछि साउन १६ को बेलुकी ९ बजेतिर विराटनगरमा गोली पड्किएको खुलेपछि प्रहरीले त्यसमा संलग्नको खोजी गरेको थियो । बुझ्दै जाँदा रकम दिन नमानेका अर्का व्यापारीको निवासको पर्खालमा उक्त गिरोहले गोली प्रहार गरेको खुल्यो । प्रहरीले रविन शर्माको कटहरी–२ आदर्शनगरस्थित घरबाट अटोमेटिक पेस्तोल र तीन थान गोली बरामद गरेको थियो ।

बिहिबार, १५ असोज, २०७७, बिहानको ०८:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर