डा. केसीको पक्षमा विराटनगरमा प्रदर्शन

विराटनगर । डा. गोविन्द के.सी. को जीवन रक्षा र बालिका सम्झनाको वि.क. को हत्यारालाई सजायको माग गर्दै विराटनगरका युवाहरु सडकमा ओर्लिएका छन् ।

चिकित्सा शिक्षामा सुधारका लागी १९ औं पटकको अनशनपछि अस्पतालमा भर्ना भएका डा. गोविन्द के.सी सम्पुर्ण मागहरु हुनुपर्ने र बझाङ जिल्लाको मष्टा गाउँपालिका–२ मा बलात्कारपछि हत्या गरिएकी बालिका सम्झना वि.क. को हत्यारालाई कानुनी दायरमा ल्याउनुपर्ने मागसहित ‘जागौं विराटनगर’ अभियानको नेतृत्वमा युवाहरु सडकमा ओर्लिएका हुन् ।

प्रतिष्ठानमा एम.बी.बी.एस लगायत कार्यक्रम सञ्चालन गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २, गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर, ईलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल सञ्चालनको लागि प्रक्रिया अघि बढाउनुपर्ने र २०७५ साउन १० गते भएको सम्झौता कार्यान्वयन हुनुपर्ने डा.के.सी का प्रमुख मागहरु हुन् । डा. केसीका मागहरु जायज भएकाले उक्त मागहरु यथाशिघ्र पुरा गरिनुपर्ने युवा अभियन्ता विपुल झा को भनाई छ ।

यस्तै निर्मला बलात्कार हत्याकाण्ड जस्तै बालिका वि.क.को हत्यारालाई पनि सरकारले संरक्षण गर्ने प्रयास गरिरहेको र्‍यालीमा सहभागी युवाहरुले बताएका छन् । सरकारले दोषी र अपराधीलाई उन्मुक्ति दिने पाराले प्रहरी प्रशासन र कानुनमाथिबाट आम जनताको विश्वास कमजोर हुँदै गएको अभियन्ता कमल पोखरेलले बताए ।

विराटनगरको संसारी माईस्थानबाट निस्किएको र्‍याली जलजला चौक हुँदै महेन्द्र चौक पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा युवाहरुले डा. केसीको माग पुरा गर, व्यापारी सरकार चाहिँदैन सत्याग्रही मार्न पाईदैन, डा. केसीको अनशन माफियालाई टेन्शन र बलात्कारी संरक्षण गर्ने सरकार चाहिदैन न्याय मार्न पाईदैन लगायतका नाराहरु घन्काएका थिए । पछिल्लो समय भने डा. गोविन्द के.सी र बालिका सम्झना वि.क का लागी देशैभरि आन्दोलन भईरहँदा पनि सरकारले हालसम्म कुनै ठोस निर्णय लिन सकेको छैन् ।

आमरण अनसनमा रहेका केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर भएको भएको भन्दै यसअघि विराटनगरका २२ जना नागरिक अगुवाहरुले संयुक्त अपिलमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

बुधबार, १४ असोज, २०७७, साँझको ०५:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर