काठमाडौं । रसियाले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप नेपाललाई पनि उपलब्ध हुने भएको छ । रुसको सार्वभौम सम्पत्ति कोषले नेपाललाई २ करोड ५० लाख डोज खोप उपलब्ध गराउने भएको हो ।
कोषले मंगलबार ट्रिनिटी फार्मास्युटिकल्समार्फत नेपाललाई आफ्नो सम्भावित कोभिड १९ खोपको २ करोड ५० डोज उपलब्ध गराउने सहमति भएको जनाएको छ । सहमति अनुसार नेपालको ९० प्रतिशत जनसंख्यालाई रुसको सम्भावित कोभिड–१९ खोप ‘स्पुतनिक–भी’ उपलब्ध गराउन सकिने जनाइएको छ ।
खोप नेपालका क्लिनिकहरुलाई प्रमाणित सुरक्षा र प्रभावकारिताका साथ उपलब्ध गराइनेसमेत जनाइएको छ । एसिया, मध्य पूर्व, ल्याटिन अमेरिका, युरोप र सीआईएसका ५० भन्दा बढी मुलुकहरुले स्पुतनिक भीको माग गरेको रसियाले जनाएको छ । मेक्सिको, ब्राजिल, भारत र उज्वेकिस्तान खोपका लागि सम्झौता भइसकेको जनाइएको छ ।
रुसले सबैभन्दा पहिला विकास गरेको भनेको यो खोप प्रभावकारीसमेत रहेको दावी गरेको छ । यद्यपी अमेरिका र पश्चिमा राष्ट्रहरुले रुसले खोप विकासमा क्लिनिकल परीक्षणको मापदण्ड पालना नगरेको आरोप लगाउँदै आएका छन् । विश्व स्वास्थ्य संगठनले पनि खोपलाई मान्यता दिइसकेको छैन ।