विराटनगर । मोरङमा दशैं, तिहार, छैठ लगायतका चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ ।
कोरोना संक्रमण तीव्र रुपमा बढिरहे पनि सुरु हुन लागेका चार्डपर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउनेगरी सुरक्षा योजना तयार गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो ।
सम्भावित र विगतमा भएका घटना एवं अपराधिक गतिविधीलाई आधार मानेर विशेष ढंगले सुरक्षा योजना तयार पारिएको एसपी खड्काको भनाइ छ । प्रदेश राजधानी विराटनगरलगायतका स्थानमा प्रहरीको विशेष टोली परिचालन गर्दै सुरक्षा योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
धार्मिक तीर्थस्थल, शक्तिपीठ, मठमन्दिरलगायत भक्तजनहरुको भीडभाड एवं घुइँचो हुने स्थानको सुरक्षा व्यवस्था मिलाउन निगरानी बढाइएको छ । यस्तै भीडभाडमा हुने चोरी, डकैती र लुटपाटका घटना हुन नदिन प्रहरी चनाखो रहेको छ । मादक पदार्थ सेवनबाट हुने झैझगडा एवं अपराध नियन्त्रण, कालोबजारी, इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभावलगायतमा पनि प्रहरीले ध्यान दिन थालेको छ ।
चाडपर्वमा यातायातको सहज उपलब्धता, चुस्त ट्राफिक व्यवस्थापन, तस्करी, हातहतियार तथा लागुऔषधको अवैध ओसारपसार नियन्त्रणमा अहिल्यैदेखि प्रहरी सक्रिय भएको छ । बैंक तथा वित्तिय संस्था, आर्थिक गतिविधी एवं सुनचाँदीको कारोबार बढी हुने स्थान, सरकारी कार्यालय, एटीएम बुथ र पसलहरुमा निरानी बढाउन प्रहरीको विशेष टोली खटाइएको छ ।
जुवातासलगायत गैह्रकानूनी खेलहरु र शान्ति भड्काउने समूहलाई पूर्ण रुपमा नियन्त्रणमा लिने तयारीमा प्रहरी छ । उद्योग, कलकारखाना, महत्वपूर्ण प्रतिष्ठान, लोकमार्ग तथा अन्य सहायक राजमार्गको सुरक्षा व्यवस्थामा कुनै कमी आउन नदिने तयारी गर्दै होटल, लज एवं रेष्टुरेन्टको नियमित चेकजाँचको व्यवस्था मिलाइएको छ ।
शंकास्पद व्यक्तिहरु एवं सार्वजनिक स्थलमा हुने गतिविधीको निगरानी, पटकाको ओसारपसार तथा बेचबिखन नियन्त्रण, सीमा क्षेत्रमा कडाई, मदिराको ओसारपसार, पकेटमार लगायत अपराधिक प्रवृत्तिका मानिसहरुको पहिचान प्रहरीको प्राथमिकतामा परेका छन् । अवैध मदिरा ओसारपासर र बेचबिखनलाई प्रहरीले पूर्ण निगरानीमा राखेको छ । मापसे गरेर सवारी साधन चलाउन पूर्ण रुपमा रोक लगाइनेछ ।
अन्य सुरक्षा निकायसँग समन्वय गरेर सबै सरोकारवालालाई सजग गराउँदै सर्तकता अपनाउन थालिएको एसपी खड्काले बताउनुभयो । मोरङमा सुरक्षा चेतना अभियान घटस्थापनाको दिनभन्दा एक साता अघिबाट थालिने भएको छ । सीमा अपराध नियन्त्रणका लागि भारतीय ‘काउण्टर पाट्र्स’सँगको समन्वय र सहकार्यलाई पनि प्रहरीले महत्व दिएको छ ।
मोरङमा चाडपर्व सुरक्षाका लागि १ हजार २ सय ३३ प्रहरी आवश्यक पर्ने देखिएको छ । ९ सय ६० जना जिल्लाभित्रबाटै खटाउन सकिने र अरु २ सय ७३ जना माथिल्लो कार्यालयबाट माग गरिएको एसपी खड्काले बताउनुभयो । कोरोना भाइरसको संक्रमण नियन्त्रण एवं रोकथामका लागि तोकिएको स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाईका साथ पालना गराउन पनि प्रहरी सक्रिय भएर लागेको खड्काले बताउनुभयो ।