विराटनगर । विराटनगरको न्युरो अस्पतालले प्रदेश १ मै निजी क्षेत्रमा पहिलो पटक कोरोना परीक्षण गर्ने पिसिआर ल्याब सञ्चालनमा ल्याएको छ ।
प्रदेशमा पिसिआर जाँच गर्न उपलब्ध मेसिनहरु पर्याप्त नदेखिको बेला न्यूरो अस्पतालले अत्याधुनिक पिसिआर ल्याब सञ्चालनमा ल्याएको जनाएको छ ।
परीक्षणको संख्या बढाउनुपर्ने अवस्था रहेको बेला सरकारले न्यूरो अस्पताललाई निजी स्तरबाट कोरोना परीक्षण गर्न अनुमति दिएपछि ल्याब सञ्चालनमा ल्याएको हो । न्यूरो हस्पिटलद्वारा संचालित कोभिड अस्पतालमा आरटी पिसिआर ल्याब सञ्चालनमा आएको हो ।
स्वास्थ्य मन्त्रालयले आइतबार स्वीकृति दिएसँगै ल्याब सञ्चालनमा आएको अस्पतालले जनाएको छ । बिराटनगर १० स्थित कोभिड अस्पतालमा अत्यधुनिक ल्याबमा अजुर कम्पनीको पिसिआर मेसिन तथा न्युकलिक एक्स्ट्रयाक्सन मेसिन जडान भएको अस्पतालले जनाएको छ । उक्त मेसिनमा एक दिनमा १ हजारभन्दा बढी नमुना परीक्षण गर्नसक्ने अस्पतालका अपरेशनल डाइरेक्रटर राजेश भट्टराईले जानकारी दिनुभयो ।
कोभिड बिरुद्धको लडाईमा कोभिड अस्पताल सञ्चालनपछि पिसिआर ल्याबको सञ्चालनको रुपमा अर्को कोषेढुङ्गा पार गरेको अस्पतालको भनाइ छ । न्यूरोले १ नं. प्रदेशमै निजी स्तरबाट पहिलो कोभिड अस्पताल सञ्चालनमा ल्याएसँगै कोभिडको उपचारमा बिभिन्न प्याकेजहरुका साथै प्रादेशिक सरकार, सामाजिक विकास मन्त्रालयसँगको समझौतापछि लक्षण भएका कोरोना संक्रमितको निःशुल्क उपचारसमेत गर्दै आएको छ ।
पिसिआर ल्याबको सञ्चालनले कोरोनाको संक्रमितको उपचारमा मात्र नभएर अन्य बिरामीकोहरुको उपचारमा समेत सहजता हुने अस्पताल निर्देशक तथा कोभिड—१९ म्यानेजमेन्ट एण्ड रेस्पोन्स कमिटिका संयोजन ई.रंजितराज बस्नेतले बताउयनुभयो । अस्पतालले पिसिआर जाँचको लागि ल्याबमा गई स्वाबको नमुना दिन सकिने अथवा घरबाटै स्वाब संकलन गर्न (होम सेम्पलेङ) सकिने व्यवस्था पनि मिलाएको छ ।