दुई छोरी डुबेपछि उद्धार गर्न गएकी आमाको पनि मृत्यु

विराटनगर । मोरङको ग्रामथानमा माछा पाल्ने पोखरीमा डुबेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

ग्रामथान गाउँपालिका–४ बनसखण्डीकी ३५ वर्षीय सीता अधिकारी, उनका १३ वर्षीया छोरी पवित्रा र ९ वर्षीया छोरी कृतिकाको मृत्यु भएको हो ।

छोरीहरु पोखरीमा डुबेपछि उद्धार गर्न गएकी सीताको पनि डुबेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार आइतबार दिउँसो माछा पाल्ने पोखरीमा सीताका दुई छोरी पसेका थिए ।

पोखरीको डिलमा कपडा खोलेर दुई छोरी पसेको देखेपछि उद्धारका लागि आमा सीता गएकी थिइन् । ग्रामथान गाउँपालिका–२ का वडाअध्यक्ष बैजनाथ विश्वासका अनुसार दाजुको माछा पोखरीमा चारो हाल्न गएको बेला सँगै गएका छोरीहरु पौडी खेल्न भन्दै पसेका थिए ।

सुरुमा कान्छी छोरी पोखरीमा डुबेपछि उनलाई निकाल्न दिदी पबित्रा पोखरीमा पसेकी थिइन् । पबित्रा पनि डुबेपछि सीता पोखरीमा पसेको र पोखरी गहिरो भएका कारण तीनैजना निस्कन नसकेको प्रहरीले जनाएको छ । उनीहरु घर नफर्किएपछि खोजी गर्ने क्रममा साँझपख पोखरीभित्र शव भेटिएको थियो ।

श्रीमान ९ वर्षदेखि सम्प्र्कविहिन भएपछि सीता दुई छोरीसहित माइतमा बस्दै आएकी थिइन् । घटनाबारे जानकारी पाएपछि पुगेको प्रहरीले तीनै जनाको शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर ल्याएको छ ।

 

सोमबार, ०५ असोज, २०७७, बिहानको ११:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर