तेह्रथुम । तेह्रथुमको लालिगुरा“स नगरपालिका प्रमुख अर्जुन माबोहाङले राहतको चामल अनियमित रुपमा बिक्री गरेको आरोप लागेको छ ।
कुनै कानूनी प्रक्रिया नै नअपनाई नगर प्रमुख माबोहाङले न्यून मूल्यमा केही व्यापारी र व्यक्तिलाई राहतको चामल बिक्री गरेर अनियमता गरेको नेकपा लालिगुराँस नगर कमिटीले आरोप लगाएको हो ।
नेकपा नगर कमिटी अध्यक्ष कमलबहादुर खड्काका अनुसार कोरोना महामारीमा भएको लकडाउनको समयमा भोकै परेका नगरबासीलाई राहत दिन संघीय, प्रदेश सरकार र स्थानीय दाताहरुबाट चामल प्राप्त भएको थियो । उक्त चामलमध्येको २६६ बोरा सुटुक्क भदौ २१ गते बिक्री गरिएको हो ।
चामल बिक्रीको लागि न कुनै सार्बजनिक सूचना नै आह्वान गरियो न त कुनै टेण्डर नै । नगरप्रमुख माबोहाङले प्रतिबोरा ५ सय रुपैयाँका दरले व्यापारी र केही व्यक्तिलाई चामल बिक्री गरेकोले अनियमितता गरेकोले छानविन हुनुपर्ने माग नेकपाले गरेको छ ।
नगरपालिकाका प्रवक्ता देवेन्द्र खड्काले भने विग्रिन लागेको २ सय ६६ बोरा चामल विक्री गरेको बताउनुभएको छ । स्थानीयले भने नगरप्रमुखले एक हजार बोरा चामल प्रक्रियाबिनै विक्रि गरेको आरोप लगाएका छन् । आर्थिक कार्यविधि ऐन २०५५ को आठौं संसोधन २०७२ को परिच्छेद ७ मा कार्यालय प्रमुख वा निजले तोकेको अधिकारीको लिखित आदेशविना जिन्सी मालसामान लिलाम बिक्री वा हस्तान्तरण गर्न नहुुने व्यवस्था छ ।
नगरप्रमुख माबोहाङले प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौला विदामा बसेको समयमा आफ्नो तजविजीमा चालम बिक्री गरेका हुन् । कोरोना संंक्रमणको समयमा दैनिक ज्याला मजदुरी गरी खाने र निम्न आय भएका नागरिकका लागि राहात वितरण गर्न खरीद गरेको चामल नगर प्रमुख माबोहाङले गैरकानूनी रुपमा विक्री गर्नु भ्रष्टाचार भएकोले त्यस विरुद्ध अख्तियारमा जाने नेकपाले जनाएको छ ।
नगरप्रमुख अर्जुन माबोहाङले राहत वितरण गरेर बचेको चामल सड्न लागेकोले नगरपरिषदको निर्णय अनुसार २५ केजी तौलको प्रतिबोरा ५ सय रुपैयाँका दरले बिक्री गरेको बताउनुभयो । चामल बिक्रिबाट प्राप्त १ लाख ३३ हजार रुपैयाँ विपद् कोषमा जम्मा गरेको उहाँको भनाइ छ ।
कोरानाले गर्दा चालम परीक्षण गराउन र त्यसपछि प्रक्रिया पुरा गर्दा चामल पुरै नष्ट हुने भएकोले थोरै भएपनि राजश्व आम्दानी गर्न बोर्ड बैठकबाट निर्णय गरेर चामल बिक्रि गरेको माबोहाङको भनाइ छ ।